• १६ वैशाख २०८१, आइतबार

म्याग्दीखोलामा मोटरेबल पुल निर्माण

blog

म्याग्दीखोलामा निर्माण गरिएको पक्की मोटरेबल पुल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  
म्याग्दी, असोज १४ गते ।
म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङस्थित छ्यारछ्यारेमा ४० मिटर लम्बाइ भएको पक्की मोटरेबल पुल निर्माण गरिएको छ । पालिकाको वडा नम्बर १ निस्कोटलाई गाउँपालिका केन्द्रसँग जोड्न म्याग्दी खोलामाथि पक्की पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै वर्षातका समयमा पनि  आवतजावत गर्न सहज भएको छ ।

पुल बनेसँगै निस्कोटका साथै म्याग्दीको मङ्गला गाउँपालिकाका अर्मन, सिर्कुम, छसवाङ, मसुरबारी, टिकवाङ र मालिकाको रुम गाउँका सर्वसाधरणहरु लाभान्वित भएका छन् । पक्की पुल नहुँदा विगतमा वर्षातका समय यातायात अवरुद्ध हुने गरेको थियो । हिँउदका समयमा जोखिम मोलेर सवारीसाधन आवतजावत हुनेगरेका थिए ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले चार करोड ४५ लाख ८१ हजार रुपियाँमा ठेक्कामार्फत स्टिल ट्रष्ट प्रविधिको मोटरेबल पुल निर्माण गरेको कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्टिल ट्रस्टमाथि ढलान गरी दुवैतर्फ फुटपाथ बनाइएको छ । 

पुल निर्माणका लागि कार्यालयले प्रदिप जुम्ली जेभीसँग २०७७ साउन ४ गते दुई वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । सम्झौता मितिमा पुल निर्माण सम्पन्न नभएपछि कार्यालयले एकवर्ष समयअवधि थप गरेको थियो । पछिल्लो पटक थपिएको म्याद यही असोज ३० गतेसम्म कायम थियो । थपिएको म्यादभित्र पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख पौडेलले भन्नुभयो, ‘‘पुल निर्माण भई सवारीसाधन आवतजावत हुन थालेका छन् । पुलमा रङरोगन गर्ने र सरसफाईको काम मात्र बाँकी छ । यो काम पनि यसै हप्ता सम्पन्न हुन्छ ।’’ कार्यालयका तर्फबाट निर्माण व्यवसायीलाई अहिलेसम्म तीन करोड ८० लाख ३४ हजार रुपियाँ भुक्तानी भइसकेको उहाँले बताउनुभयो ।

म्याग्दी खोलामा पक्की पुल निर्माण भएसँगै निस्कोटका स्थानीयहरुलाई पालिका केन्द्र दरबाङ आउजाउ गर्न, खाद्यन्न ढुवानी र कृषि उपजको बजारीकरणमा सहज भएको निस्कोटका वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो । उहाँका अनुसार बागलुङको ताराखोला गाउँपालिकाका स्थानीयहरु पनि लाभान्वित हुनेछन् ।