• २१ वैशाख २०८१, शुक्रबार

एसियाडको आठौं दिन दीपकको राष्ट्रिय कीर्तिमान

blog

एसियाडमा प्रतिस्पर्धा गर्दै दीपक अधिकारी ।

हाङझाउ, असोज १३ गते । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) मा नेपाली खेलाडीले खराव प्रदर्शन गर्दा आठौं दिन एथ्लेटिक्समा दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।

जारी एसियाडमा नेपालको लागि यो पहिलो सफलता हो । हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार साँझ भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५.०६ सेकन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाउनुभयो ।

उहाँले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएकोमा भएको १७औं एसियाडमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान तोड्नुभएको हो । गोपीले ३० मिनेट ३०.९९ सेकेण्डको कीर्तिमान बनाउनुभएको थियो ।

दीपकले नौ वर्षपछि उक्त कीर्तिमान तोड्नुभएको हो । यसअघि दीपकले गत वर्ष पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा १० हजार मिटरमा ३० मिनेट १०.३ सेकेन्ड ह्याण्ड कीर्तिमान बनाउनुभएको थियो । तर नवौंमा इलेक्ट्रिक टाइमिङ नभएकाले उक्त कीर्तिमानलाई आधिकारिक मान्यता दिइएको थिएन ।

१९औं एसियाडमा एक्लो नयाँ राष्ट्रिय कीर्तिमान बनाउने दीपक पहिलो नेपाली खेलाडी हुनुहुन्छ । जारी एसियाडको यस स्पर्धामा १६ जना खेलाडी सहभागी थिए । जसमा दीपक सातौं हुनुभयो ।

जारी एसियाडमा सबै खेलले निराश प्रदर्शन गर्दा दीपकको कीर्तिमानले केही राहत दिएको एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङले बताउनुभयो । ‘‘एसियाडमा राष्ट्रिय कीर्तिमान बन्नु हाम्रोलागि पदक जितेसरह हो । ‘यो एकदमै ठूलो उपलब्धी हो सबैको मिहिनेतले सफल भयौ, एकदमै खुशी छौं’’, उहाँले भन्नुभयो ।

दीपक अनुशासित र मेहेनती खेलाडी भएकोले भविष्यमा अझै राम्रो गर्ने उहाँले बताउनुभयो । यस्तै दीपक अधिकारीले  आफ्नो नयाँ कीर्तिमानले खुशी बनाएको प्रतिक्रिया दिनुभयो ।

‘‘आज निकै खुशी लागेको छ । मेहेनत अनुसारको नतिजा पाएको छु । नियमित अभ्यास गर्न पाए अझै योभन्दा राम्रो गर्नसकिन्छ,’’ उहाँले भन्नुभयो । विभागीय टोली त्रिभुवन आर्मीका खेलाडी दीपकले नेपालका भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) बाट एथ्लेटिक्समा भाग लिन थाल्नुभएको हो ।

सागमा उहाँले कांस्य जित्नुभएको थियो । उहाँले यसअघि एसियन क्रमकन्ट्रीमा पुरुष १० किमी र टिम स्पर्धामा नेपाललाई स्वर्ण जिताई सक्नुभएको छ ।