एकिन्द्र तिमिल्सेना
टीकापुर, असोज १३ गते । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बहुजातीय समाजमा एकले अर्कालाई बुझ्न नसके नेपालमा दुर्भाग्य हुने बताउनुभएको छ ।
शनिबार टीकापुरमा नमुवा थारुको प्रथम केन्द्रीय सम्मेलनलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहले सो कुरा बताउनुभएको हो । ‘एकले अर्काको अस्तित्व स्वीकार नगरे आपसी विश्वास र सदभाव संकटमा पर्छ’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘विभिन्न जातजाति संस्कृति रीतिरिवाज बोकेका धेरै समुदाय मिलेर बनेको मुलुक नेपालमा सबैको आ–आफ्नो पहिचान छ ।’
मानिस काम, पेशा, व्यवसाय र बसाइसराइका लागि देशभित्रका विभिन्न ठाउँमा र विदेशमा पनि जाने चलन बढेको चर्चा गर्दै मुख्यमन्त्री शाहले बंश र पितृत्व थाहा पाउन पनि एक ठाउँमा आउनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘कसैले कसैलाई अपमानित गर्नु हुँदैन । संविधानले गरेको दिशानिर्देशअनुसार नयाँ वातावरण बनाउनु पर्छ ।’
पश्चिम नेपालका तराईका जिल्लामा नमुवा थारुहरुको बसोबास छ । सम्मेलनमा सात जिल्लाका एक हजार जना सहभागी भएका अध्यक्ष चन्द्रप्रकाश चौधरीले जानकारी दिनुभयो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।
थारु आयोगले २०७७ सालमा गरेको अध्ययनले तराईका २२ र पहाडका सुर्खेत र उदयपुरगरी २४ जिल्लामा एक हजार ९५८ थरहरु सूचिकरण गरेको छ ।