राधा लुइटेल
फिदिम, असोज १३ गते । नेपाली कांग्रेसले पाँचथरको फिदिम नगरपालिकाका पार्टी सभापति प्रकाश गुरुङलाई अनुशासनको कारवाही गरेको छ । भ्रामक अडियो सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट सार्बजनिक गरेर पार्टी र नेतृत्वको बदनाम गरको भन्दै गुरुङलाई तीन बर्षका लागि साधारण सदस्य समेत नरहने गरी कांग्रेसको केन्द्रीय अनुशासन समितिले कारवाही गरेको हो ।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले गुरुङलाई पत्र पठाउँदै अनुशासनको कारवाही गरेको स्पष्ट पार्नुभयो । गुरुङले २०७४ को स्थानीय तह निर्वाचनमा मेयर पदको टिकट किनबेच भएको भन्ने आसयको अडियो गत असारमा सार्बजनिक गर्नुभएको थियो ।
कांग्रेस जिल्ला सहसचिव सन्तोष श्रेष्ठसँग गरिएको कुराकानीमा फिदिम नगरपालिकामा मेयर पदको टिकट लिन २ पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणासँग २ करोड लेनदेन भएको आसय रहेको थियो ।
अडियो बाहिरिएलगत्तै कांग्रेसको जिल्ला कार्य समिति बैठकले दुबै जनालाई स्पष्टीकरण मागेको थियो । अडियो संवादमा स्थानीय तह निर्वाचनमा गुरुङ स्वयम मेयरका आकांक्षी रहेकाले टिकट नपाएको झोकमा सुनियोजित रुपमा अडियो रेकर्ड गरेर सार्वजनिक गरी नेतृत्वको बदनाम गरेको अनुशासन समितिको भनाइ छ ।
सो अडियो प्रकरणमा जिल्ला कार्य समिति र केन्द्रीय अनुशासन समितिले मागेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएकाले कारवाही गरिएकोपत्रमा उल्लेख छ । कांंग्रेसले अडियो प्रकरण मुछिएका जिल्ला सहसचिव सन्तोष श्रेष्ठलाई भने सफाइ दिएको छ ।
श्रेष्ठले आत्मआलोचनासहित गल्ती नगर्ने प्रतिवद्वता गरेकाले सचेत गराउँदै कारवाही नगरिएको नेताहरुको भनाइ छ । निलम्बित नगर सभापति गुरुङ भने आफु वीपी कोइरालाको बिचार र सिद्वान्तबाट प्रेरित भएकाले कारवाहीले केही फरक नपार्ने दाबी गर्दैआएका छन ।