• २६ वैशाख २०८२, शुक्रबार

नेपालको अर्थव्यवस्था चाँडै लयमा फर्किन्छ : अर्थमन्त्री महत

blog

अर्थमन्त्री डा. प्रकाशशरण महत कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, असोज १३ गते । संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्याहरु विस्तारै समाधान हुँदैगएकाले नेपालको अर्थव्यवस्था चाँडै लयमा फर्किने बताउनुभएको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिबार जनकपुरधाम उद्योग बाणिज्य संघको ५६ औं वार्षिक सधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “धेरै समस्याहरु अर्थतन्त्रमा देखियो, ती समस्याहरु विस्तारै समाधान हुँदैगएको छ । अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको छ ।”

परिणामा आउन केही समय लाग्ने उहाँले बताउनुभयो । उहाँले अर्थतन्त्रमा केही समस्या देखिए पनि  रिमिटान्स र पर्यटन क्षेत्र विस्तार भएकाले अर्थतन्त्र छिटै आफनो लयमा फर्किने बताउनुभयो । सेयर बजारलाई सहज बनाउन र बैंकहरुको ब्याजदर घटाउने काममा सरकार लागिपरेको उहाँको भनाइ छ । 

यसका लागि पटक पटक राष्ट्र बैंकसँग अर्थतन्त्रलाई सुधारका लागि सबै  विषयमा मन्त्रालयले छलफल गरेको उहाँले बताउनुभयो । उहाँले कोभिडपछि समस्यै समस्या देखाएर अन्तर्राष्ट्रियस्तरमा वाताबरण विगार्ने काम मात्रै भएको भन्दै त्यस्तो चिन्ताजनक अवस्था नरहेको बताउनुभयो । 

उहाँले विनयोजित बजेटलाई पनि समयमै खर्च गर्न मन्त्रालयले सबैलाई भनिसकेको भन्दै समयमा खर्च भएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । उहाँले सकारात्मक दिशामा देश अघि बढेको र यसले सकारात्मक परिस्थिति अन्तर्राष्ट्रिय तहमा बन्दैगएकाले लगानी गर्ने बतावरणको निर्माण भएको बताउनुभयो । अर्थमन्त्री महतले कोभिडको समयमा उदार मौद्रिक नीति अपनाएर बैंकहरुले सस्तो दरमा क्रृण प्रवाह गरेको र अहिले क्रण तिर्नेबेला मौद्रिक नीति टाइट भएपछि व्यवसायीलाई समस्या आएको बताउनुभयो ।

सरकारमाथि आन्तरिक र बाहय लिएको क्रणको सावाँ व्याज तिर्ने दायित्व बढेको उहाँले बताउनुभयो । अर्थमन्त्री महतले कृषि उत्पादन बढाउनेतर्फ सरकार गम्भीर रहेको भन्दै सिंचाइँका लागि आवश्यक सुनकोशी कमला मरिण डाइभर्सनको कामलाई तिब्रता दिएको बताउनुभयो । 

उहाँले जनकपुरधामलाई धार्मिक साँस्कृतिक केन्द्रको साथै आर्थिक केन्द्रको रुपमा बिकास गर्नुपर्ने र यसका लागि सरकारले जनकपुरधामलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले जटही–जनकपुर नाका पनि सम्भाव्य नाकाको रुपमा रहेको भन्दै सो नाकाबारे निर्णय लिने बताउनुभयो । 

धेरै पँुजी सहकारीले होल्ड गरेका कारण पनि अर्थतन्त्रमा असर परेको भन्दै सहकारीको नियमनका लागि सरकारले अगामी दिनमा कदम चाल्ने बताउनुभयो । उहाँले मधेश प्रदेशको विकासमा अहम भूमिका राख्ने हुलाकी राजमार्गको निर्माण कार्य चाँडै सक्ने किसिमले काम अघि बढाउन सरकारले निर्देशन दिइसकेको बताउनुभयो । 

उद्योग बाणिज्य संघ जनकपुरधामका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एवम प्रतिनिधि सभा सदस्य जुलीकुमारी महतो, प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर, रामसरोज यादव जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहसहितले मधेश प्रदेशको विकासमा देखिएका समस्या बारेमा मन्त्रीलाई अवगत गराउनुभयो ।