• १३ मंसिर २०८१, बिहिबार

‘न्यायपालिकालाई सक्षम बनाउन पहल गरिरहने’

blog

नवीन शाही

सुर्खेत, असोज १३ गते । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई सक्षम र सुधार गर्न निरन्तर पहल गरिरहेको बताउनुभएको छ। प्रधान न्यायाधीश श्रेष्ठले सक्षम र सुदृढ न्यायपालिका बनाउन आफ्नो प्रयास जारी रहेको चर्चा गर्दै आमनागरिकमा न्यायपालिका एउटा आस्थाको केन्द्रका रूपमा स्थापित हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल बार एसोसिएसनको सुर्खेतमा शुक्रबार आयोजित केन्द्रीय साधारण सभामा यस्तो धारणा व्यक्त गर्नुभएको हो । 

प्रधान न्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्तिका सन्दर्भमा उठेका प्रसङ्गको चर्चा गर्दै भन्नुभयो, “नियुक्तिका विषयमा उठेका यस्ता प्रश्नको जवाफ कामबाटै दिइने छ।” उहाँले एक वर्षदेखि न्यायाधीश नियुक्ति हुन नसक्दा कार्यसम्पादनमा ढिलाइ भएको गुनासो बढेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “कानुन व्यवसायीको भावनालाई बुझेर एक महिनाभित्रै नियुक्ति प्रक्रिया अघि बढ्यो । न्याय परिषद्ले वरिष्ठता, कार्यक्षमता र इमानदारिता जस्ता विषयलाई हेरिएको होला भन्ने लाग्छ ।”

उहाँले बढ्दो जनअपेक्षा, सीमित स्रोतसाधनका कारण सेवा प्रवाहमा चुनौती भएको चर्चा गर्दै भन्नुभयो, “चुनौती भएपछि भागेर होइन सामना गरेर मात्र गन्तव्यमा पुग्न सकिन्छ। त्यसका लागि जनताको आस्था र विश्वास अभिवृद्धि गर्ने प्रयास भएका छन् ।”

उहाँले मुद्दा तोक्ने पद्धतिमा गोलाप्रथा लागु भई स्वचालित प्रणालीमा लिन अभ्यास भइरहेको, कार्यसम्पादनको नतिजा परिसूचक र अनुगमन संयन्त्र तोकेर सक्षम न्यायपालिका बनाउन पहल थालिएको बताउनुभयो । उहाँले अदालतमा बिचौलियाको अवाञ्छित गतिविधि हुन नदिन आन्तरिक अनुगमन र सूक्ष्म निगरानीलाई बढवा दिइएको बताउनुभयो ।उहाँले न्यायपालिकाको सुधारमा नेपाल बारको समन्वय र सहकार्य आवश्यक हुनेमा जोड दिनुभयो । 

उहाँले न्यायिक सुधारको क्षेत्रमा बार एसोसिएसनको भूमिकाको प्रशंसा गर्दै नकारात्मक पक्षबाट मुक्त हुन आग्रह गर्नुभयो। नेपाल बार एसोसिएसनले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० गरी दुई आवको एकै पटक साधारण सभा आयोजना गरेको हो । सो साधारण सभामा देशभरबाट एक हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको जनाइएको छ ।