• १३ मंसिर २०८१, बिहिबार

अध्ययनमै १५ वर्ष अधुरै डिपिआर

blog

मान्म समाचारदाता

कालीकोट, असोज १३ गते । प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिर यात्रालाई सहज बनाउने गरी निर्माण गरिने भनिएको केबुलकार सम्भाव्यता अध्ययनमै सीमित भएको छ । कालीकोट सदरमुकाम मान्म–कोडबाडा २.१५७ किलोमिटर लामो दुरीको केबुलकारको अध्ययन गर्न नै १५ वर्ष लागेको थियो । नरहरिनाथ गाउँपालिका–१ मा रहेको सुनथराली विमानस्थलसम्म पुग्न र विमानस्थलबाट सरमुकाम मान्म पुग्न छिटोछरितो र सहज होस् भन्ने उद्देश्यले केबुलकार निर्माण योजना अघि सारिएको थियो । 

नहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टका अनुसार २०६४ सालदेखि केबुलकार निर्माणको चर्चा चलेको भए पनि सम्भाव्यता अध्ययन गर्न मात्रै १५ वर्ष लागेको थियो । खाँडाचक्र नगरपालिका–१ का स्थानीय रामचन्द्र नेपालीले सम्भाव्यता अध्ययन गर्न मात्रै १५ वर्ष लाग्दा केबुलकार निर्माणमा भएर आउजाउ गर्ने आशा नै मरिसकेको बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय कालीकोटका अनुसार केबुलकार निर्माणमा एक अर्ब १४ करोड चार लाख ६५ हजार ८९० रुपियाँ लागत अनुमान गरिएको छ । प्रदेश सरकारले यस वर्ष पाँच करोड रुपियाँ बजेट विनियोजन गरेको छ । डिपिआर रिपोर्ट पनि अधुरै रहेकाले बजेट आए पनि काम सुरु हुने अवस्था छैन । निर्माण कम्पनीले १७ लाख ३० हजार रुपियाँमा डिपिआर सम्झौता गरे पनि सात लाख रुपियाँ मात्र पेस्की लगेको जनाइएको छ ।

नरहरिनाथको कोडबाडा–१ मा सुनथराली विमानस्थल निर्माण थालिएको तीन दशकपछि सम्पन भए पनि जहाज उडानको कुनै सुरसार छैन । कर्णाली प्रदेशका प्रदेश सभा सदस्य हिक्मत विष्टले विमानस्थलमा नियमित उडान र केबुलकार निर्माणमा निरन्तर पहल गरिरहेको बताउनुभयो ।