• ११ मंसिर २०८१, मङ्गलबार

विश्वभरका नृत्यको व्याकरण भैरव अल्फा साइन्स सार्वजनिक

blog

नृत्यलाई कला सँगसँगै विज्ञानको रूपमा व्याख्या 

ललितपुर, असोज १३ गते । नृत्यलाई कला सँगसँगै विज्ञानको रूपमा समेत व्याख्या गरिएको पुस्तक ‘भैरव अल्फा साइन्स’ सार्वजनिक गरिएको छ । उक्त पुस्तक नेपालका प्रथम नृत्य निर्देशक ९१ वर्षीय भैरव बहादुर थापाले लेखेका हुन् । 

पुस्तकको अङ्ग्रेजी अनुवाद चेतन कार्कीले गरेका हुन् । उक्त पुस्तकको ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जन, युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्राफ्ट, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमका नेपालस्थित प्रतिनिधि आसियानी मेडागान्गोडाले संयुक्त रूपमा गर्नुभयो ।  

महानगर प्रमुख चिरी बाबु महर्जनले आफू सङ्गीत र नृत्यको विद्यार्थी र विज्ञ नभएको बताउँदै  पुस्तकको बारेमा विश्लेषण नगर्ने बताउनुभयो ।  महानगरले भैरव बहादुर थापा जस्ता व्यक्तित्वको सम्मानका लागि यो कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले भन्नुभयो,  ‘हाम्रो नीति र मान्यता मान्छे जीवित छँदा नै सम्मान गर्नुपर्छ भन्ने हो ।’ 

सत्यमोहन जोशीज्यूलाई पनि महानगरले जीवित छँदा नै सम्मान गर्नुपर्छ भन्ने नीति अन्तर्गत सम्मान गरेको बताउनुभयो । पुस्तक लेखक भैरव बहादुर थापाले पुस्तक विश्वको नृत्यको व्याकरण भएको बताउनुभयो । उहाँले निरन्तरको मिहेनत र प्रयासबाट पुस्तक सार्वजनिक गर्न सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कला, संस्कृति र सम्पदा प्रेमी विद्धान व्यक्तित्व चिरी बाबु महर्जनले यसको महत्त्व बुझेर सार्वजनिक गर्ने व्यवस्था गरिदिनुभयो,उहाँलाई धन्यवाद ।’ यो पुस्तक सार्वजनिक हुनु भनेको विश्वको नृत्य जगतको सम्मान भएको प्रस्ट पार्नुभयो ।  

युनेस्कोका नेपालस्थित आवासीय प्रतिनिधिले महत्त्वपूर्ण कार्यक्रममा निम्ता गर्नुभएको धन्यवाद दिनुभयो । भैरव बहादुरको योगदान महत्त्वपूर्ण भएको बताउँदै भने, ‘भैरव बहादुर थापा नै युनेस्को हुनुहुन्छ ।’ भैरव बहादुर जस्ता व्यक्तित्वका लागि सक्दो सहयोग गर्ने बताउनुभयो । यो पुस्तकले विश्वको नृत्य जगतको सम्मान गरेको बताउनुभयो । युनेस्कोका नेपाल प्रतिनिधि आसियानी मेडागान्गोडाले यो पुस्तक विश्वको महत्त्वपूर्ण सम्पत्ति भएको बताउनुभयो । उहाँले युएनडिपीको प्रतिनिधिको भएर आएको पाँच वर्षमा सहभागी भएको कार्यक्रममध्ये यो अतुलनीय भएको बताउनुभयो । उहाँले यूनडिपीले नै प्रत्यक्ष रूपमा पुस्तकको प्रचारप्रसार गर्न नमिले पनि युनेस्को र अन्य सम्बन्धित सङ्घसंस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।