• १४ मंसिर २०८१, शुक्रबार

भैँसीपालनमा एक करोड लगानी

blog

ठाकुरप्रसाद आचार्य  

म्याग्दी (बेनी), असोज १३ गते । बेनी नगरपालिका–६, बाँसबोटका दुर्गा पौडेलले २६ वर्षपहिला ऋण खोजेर दुई वटा भैँसीबाट थाल्नुभएको पशुपालन व्यवसायमा अहिले एक करोड रुपियाँभन्दा बढी लगानी पुगेको छ। पौडेलले जिल्लामै नमुना किसानको परिचय बनाउनुभएको छ । उहाँ मासिक रूपमा सात लाख रुपियाँभन्दा बढीको दुध बिक्री गर्नुहुन्छ । परिश्रमी पौडेल समाजमा प्रेरणाको स्रोत हुनुहुन्छ । 

पौडेलका गोठमा यतिखेर चार वटा गाई र २६ वटा मुर्रा जातका भैँसी छन्। तीमध्ये २० वटा दुहुना भैँसीबाट उत्पादन भएको दुई सय लिटर दुध पौडेलले दैनिक रूपमा बेनी बजार पु¥याउनुहुन्छ। पौडेलले भैँसीपालनका लागि वरदान पशुपन्छी फार्म स्थापना गर्नुभएको छ । फार्ममा चार जना ज्यालादारी र एक जना दैनिक रूपमा काम गर्ने कामदार राख्नुभएको छ । पौडेलको परिवारका सबै सदस्य फार्ममा काम गर्छन् । क्याम्पस पढ्ने दुई छोरीले पनि दिउँसो र बेलुका बुवालाई सघाउँछन् । भैँसीपालनबाट पौडेल परिवार खुसीका साथै सन्तुष्ट छन् । 

पौडेलले भन्नुभयो, “२२ वर्षको हुँदा नै आफ्नै गाउँघरमा केही गरौँ भन्ने सोच आयो। पशुपालनमा भविष्य देखेँ। यही पेसाबाट छोराछोरीलाई राम्रोसँग पढाएँ। दैनिक घरखर्ची राम्रोसँग चलेको छ। दुई/चार हजारबाट सुरु गरेको व्यवसायमा अहिले एक करोडभन्दा बढीको लगानी पुगेको छ । यसैमा हाम्रो परिवार खुसी छ ।” 

पौडेल १३ वर्षअघि बेनीको एक निजी विद्यालयमा कार्यालय सहयोगीको जागिर गर्नुहुन्थ्यो। जागिरले पौडेलको परिवार चलाउन धौ धौ थियो। जागिरसँगै १३ वर्ष भैँसीपालन गर्नुभएका पौडेलले त्यसयता जागिर छाडेर पशुपालन व्यवसाय विस्तार गर्नुभएको हो । 

मोटरसाइकलमा दुधका क्यान राखेर बिहान र बेलुका गरी दिनमा दुई पटक कृषक पौडेलले दुध बेनी बजारमा लैजाने गर्नुहुन्छ। पौडेलले भन्नुभयो, “सानैदेखि देशभित्रै परिश्रम गर्ने सोच आयो, विदेश जाने सोचाइ कहिल्यै आएन । विदेश जाने त कुरा छाडौँ मैले पासपोर्टसमेत बनाएको छैन । परिश्रम गर्न सके पशुपालनमा राम्रो कमाइ छ ।” अब पैसा कमाएँ भने विदेश काम गर्न होइन घुम्न र अनुभव लिन जाने हो उहाँको भनाइ छ ।  

पौडेलले भन्नुभयो, “भैँसीपालन गरेर छोराछोरीलाई राम्रोसँग पढाएको छु। ठुलो सपना केही छैन। सुखदुःख परिवारसँग बस्न पाएको छु यही नै मेरा लागि ठुलो पुँजी हो।”

पौडेलका फार्ममा एक लाख पचास हजारदेखि दुई लाख असी हजार रुपियाँ मूल्य पर्ने भैँसी छन्। सरदरमा एउटा भैँसीले पाँचदेखि नौ लिटरसम्म दुध दिने उहाँले बताउनुभयो। पौडेलले छ रोपनी जग्गा भाडामा जग्गा लिएर घाँस रोप्नुभएको छ । पछिल्लो समय दाना र पराल महँगो भएकाले लगानी धेरै हुने उहाँले बताउनुभयो । 

चार वर्षअघि गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट १३ लाख रुपियाँ अनुदानबाट व्यवस्थित गोठ निर्माण गरेको पौडेलले बताउनुभयो। उत्पादित दुध बेनीमा १२० रुपियाँमा बिक्री हुने गरेको छ । बजारका दुई वटा डेरी पसलमा दैनिक रूपमा दुध बिक्री गर्ने र मासिक रूपमा पैसा लिने गरेको पौडेलले बताउनुभयो । मासिक रूपमा साढे सात लाख रुपियाँ बराबरको दुध बिक्री हुने पौडेलको भनाइ छ । दानापानी, घाँस र कामदारलाई भुक्तानी गरेर महिनामा एक लाख रुपियाँ बचत हुने उहाँ बताउनुहुन्छ ।  

पौडेलले भन्नुभयो, “सानो लगानीबाट सुरु गरेर लगानी बढाउँदै जानु पर्छ। निरन्तर लामो समय पशुपालन गरेपछि सफल भइन्छ।”