• ६ जेठ २०८१, आइतबार

रूपवती रुप्से झरना

blog

कति हैरानीपछि बल्ल हामी रुप्से झरना समक्ष उपस्थित थियौँ । झरनासँग साक्षात्कार हुँदा भिज्नुको के दुःख ? हिलोमा जाक्किनुको के चिन्ता ? पानीमै चोबलिनुको के सास्ती ? थिएन केही पर्वाह । भएन कुनै कष्ट । ढुङ्गामा बजारिँदा पनि दुखेन । पानीमा भिजिँदा पनि चिसो लागेन ।

मनको इच्छा पूरा भएपछि के हैरानी, के सास्ती ! मन रमाएपछि अनुहारमा खुसीका मुस्कान स्वतः प्रकट हुँदोरहेछ । गाडीमा थचारिएर थिल्थिलो भएको पीडा केही नहुँदो रहेछ । अनेकौँ खाल्डाखुल्डी, कोप्चेरो र भिरको जोखिम नाघेर आइपुग्नुको उपलब्धि यही त थियो । आँखै सामुन्ने सौन्दर्यको सुन्दर तस्बिर ‘रुप्से झरना’ झरिरहेको झरझर । झरनाको दृश्यले हाम्रा भोका आँखालाई ग्वाम्म अँगालो मार्न आउने । पानीका कञ्चन जलकणले गालामा जताततै म्वाइँ खान थाल्ने । सुक्खा अनुहारलाई सिञ्चन गर्दै त्यो मायालु स्पर्श–सुखले बेग्लै आनन्द दिने ।

यो कस्तो ‘मायावी झरना’ ? हामीले प्रश्न ग-यौँ तर उत्तर थिएन । किनभने झरना हेर्नेको भिड । भिज्दै, रमाउँदै मान्छेको ओइरो लागेको भिड झरनामा । भिजेर निथ्रुक्कै हुँदा पनि झरनाप्रतिको मोह घटेन । प्यारो भई नै रह्यो झरना । राम्रो लागी नै रह्यो झरना । झरना हेर्नुको भोक मेटिएन । झरनासँग नजिकिएको दूरी टाढिने मनै भएन । साँच्चै कति प्रिय झरना, कति मायालु, कति मनमोहनी रूप !

त्यसैले त भनिएको ‘रूपवती रुप्से झरना’/हिउँदमा हिउँसँगै बग्दै–जम्दै निरन्तर । भित्र–भित्रै बगिरहेको पानी तर बाहिर झरनाको आवरणमा अनेकौँ आकर्षक आकृतिको उपस्थिति । बर्सादमा झन् भेलबाढीसँगै ठुलो रूप र गर्जनका साथ बग्ने अविरल । गर्मी याममा शीतल, शान्त, सुन्दर स्वरूपमा प्रवाहित झरना । जहिले पनि नयाँ र अर्कै लाग्ने । झरना उही हो, पानी त्यही नै हो । तर सबैलाई सधैँ नौलो र हेर्दा आनन्द लागिरहँदो रहेछ ।

बडेमानका चट्टानसँगै ठोकिँदै, झोँक्किँदै, मिल्दै, रिसाउँदै, टाढिदै फेरि नजिकिँदै । हाँसो र खुसीका साथै दुःख र पीडा पनि छचल्काउँदै । छिनभर जम्दै, छिनमै ह्वात्त हुत्तिँदै । झर्दै तीब्र वेगबताससरी गति । रोकिने, बिसाउने वा अथवा थकाइ मार्ने फुर्सदै छैन । रातदिन बगेको बगेकै एक अथक धावक जस्तै । उही चाल, उही गति, उही छन्द र उस्तै लय । उही शैली र उस्तै चञ्चल, चलायमान छवि । 

‘झरना’ नामै कति शीतल, कति गतिमय । कामै चलायमान उसको । चरित्र नै चञ्चल उसको । चुपचाप बस्न कहाँ सक्नु ? सुतेर पनि सुलुलु बगिरहने । गुन्गुन गुन्गुनाइरहने । आफ्नै गुञ्जनमा आनन्दित । आफ्नै जलक्रिडामा मस्त र व्यस्त । नाच्दै बगिरहेको । गाउँदै दौडिरहेको । साङ्गीतिक तरङ्गहरूमा तैरिँदै, डुब्दै, उहिलेदेखि उस्तै गुञ्जन, उस्तै नृत्य । रूप–रङ र सौन्दर्य–स्वरूपमा कुनै परिवर्तन आएको छैन । हेर्ने आँखाहरू जसरी पनि आइरहेकै । भेट्न चाहने मनहरू कैयौँ जङ्घार तरेर धाइरहेकै । सात समुन्द्र पारिदेखि पनि मान्छे आइरहेकै ।

कस्तै ठुलो चट्टानले समेत रोक्न नसक्ने । पहाडले नै बाटो छेकेर बसे पनि आखिर विजय झरनाकै हुने । हिँड्नु नै पहिलो काम । पुग्नु नै पहिलो लक्ष्य । भोलि भन्ने शब्द छैन । एकछिन भन्ने बोली छैन । अहिल्यै, तुरुन्तातुरुन्तै काम तमाम सकिहाल्ने । झरनाको बानी र बान्की–बनोट पनि कति राम्रो ।

यो हो, रुप्से झरना । यही हो रूपवती ‘रुप्से झरना’ । यही हेर्न हामी जस्ता यात्रीको घुइँचो यहाँ । घचेटाघचेटमा हेर्नुको धपेटी । फोटो खिच्नुको हत्पति । फोटोप्रेमीहरू कैयौँ यहीँ भेटिने । झरनासँग आफूलाई पनि सुन्दर देखाउन मन पराउने । सम्झनाको मिठो चिनो तस्बिर । तस्बिरसँगै रुप्से झरनाको जल प्रवाह पृष्ठभूमिमा । झरनाबाट झरिरहेका पानीका बुँद–विम्बका अर्कै पाटो र परिवेश । पानी–फोहोराका उत्ताल तरङ्ग ऊर्जामय उमङ्गको ।

दुध जस्तो सफा र सेतो झरनाको बाढी । दही जस्तै बाक्लो लेदो पानीको कति ठूलो सफा स्वरूप । छङछङ छङ्छङ्गिँदै सङ्लो पानीको मुस्लो । जुलुस–जमात पानीको दौडिरहेको अनवरत । तिनले चट्टानलाई पखाल्दै झर्ने । बोटबुट्यानलाई सिञ्चित गर्दै बग्ने । कति उर्वराशक्ति झरनाको । कति उमङ्गले उफ्रिपाफ्री गर्दै बगिरहेको ।

बग्नुको व्रmमागत शृङ्खलामा सौन्दर्यको दृश्यपान पनि मजाले गराउने । नझुक्ने कसैसँग । नसुक्ने कहिल्यै । बग्नुको कर्ममा दत्तचित्त झरना । शक्तिशाली स्वरूप । अरूलाई पानीको प्यास र आँखाको प्यास दुवै प्यास मेटाउँदै । कतिथरी आकृतिहरू देखिने । कति छालहरूका तरङ्ग–तरेलीहरू साक्षात्कार हुने । हेर्नुको पृथक् मज्जा । रमाइरहनुको पृथक् आनन्द । आहा, प्रिय रूपसी रुप्से झरना ।

वस्तुतः झरनाको मिठो पानी । प्रकृतिको रानी । सौन्दर्यको खानी । झरना, तिमी चोखो, कति सङ्लो, कति राम्रो ! हामी यात्रीलाई लट्ठै पार्ने । मायाजालमा बेर्ने । झरनालाई एक्लै छोडेर हिँड्न मनै नलाग्ने । एउटै झरनाले हजारौँलाई खुसी दिने । एउटै सौन्दर्यले सैयौँलाई सैयौँ अनुभूति बाँड्ने । भावनात्मक छैन, उद्देश्यहीन पनि होइन । कपोलकल्पित कदापि होइन । यथार्थमा जिन्दगीको विम्ब प्रस्तुत जहाँ खुसी पाउन दुःख झेल्नु पर्छ । भरेभोलि नभनी तत्काल काम सक्नु पर्छ । यस्तो प्रेरणादायी, ऊर्जामय झरना पुग्न सजिलो हुनु पर्छ । अमूल्य जीवनलाई मृत्यु नजिक राखेर हिँड्नुपर्ने बाध्यताको अन्त्य आवश्यक छ । पाइलामा ठेस लाग्ने बाटो होइन हिँड्दा हिँडिरहुँ लाग्ने, फेरि पनि आइरहन मन लाग्ने सुविस्ताको बाटो बनिदिए पुग्छ । 

रूपसी रुप्से झरना ! झर्दै झरझर अविरल–अविरल । अनेकौँ विम्ब–बनोटका आकृति र अनुहारहरू । रङहरूको बेग्लै रूप–लावण्य । पानीका रूप–सौन्दर्य प्रकृतिको अनमोल दृश्य । झरनामा सूर्यको स्पर्श अर्को अलग्ग आकृतिको उदय । जहाँ देखा पर्छ इन्द्रेणी रङको रूप–सौन्दर्य विछट्टकै विम्ब ।

रुप्से झरना अथवा रुप्से छहरा । म्याग्दी जिल्लास्थित अन्नपूर्ण गाउँपालिकाको दाना भन्ने स्थानमा अवस्थित मनमोहक झरना । बेनी–जोमसोम सडक खण्डको काखबाट झरिरहेको झरना । धौलागिरि हिमालको काखमा रहेका पहाडी पाटो हुँदै आएको त्यहाँको पानीले यति सुन्दर झरनाको रूप बनाएको छ ।    यो झरनाको पानी तल कालीगण्डकी नदीमा मिसिन्छ । झरना अवलोकन गर्न दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरू प्रशस्त आउँछन् । मुक्तिनाथ र माथिल्लो मुस्ताङ जाने मार्ग पनि यही भएकाले झरना हेर्नेहरूको सङ्ख्या अधिक हुनु स्वाभाविक हो । 

विसं २०३२ मा ७५ पैसाको हुलाक टिकटमा झरना अङ्कित छ । टिकटमार्फत झरनाको महìव र प्रचारमा फड्को मारेको विश्वास गर्न सकिन्छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रुप्से झरनामा सदाबहार सप्तरङ्गी इन्द्रेणीको लुकामारी अर्को मनमोहक पाटो । रुप्से झरना र संसारकै गहिरो गल्छीका साथै बाजा जस्तै बज्ने ‘नौमती ढुङ्गा’ पनि दर्शनीय स्थल हो यहाँको ।

झरना र गल्छीमा पूर्वाधार निर्माणका लागि हालसम्म विभिन्न निकायले लगानी त गरे तर प्रगति प्रशंसनीय लाग्दैन । कम्तीमा पनि यस्तो दर्शनीय स्थलमा दर्शकहरू आरामले बसेर हेर्ने ठाउँ मात्रै भइदिँदा पनि धेरै सुविधा पाएको महसुस हुन्थ्यो । झरना हेर्दै थकाइ मार्ने थलो बन्थ्यो ।

एकान्तमा अरण्य–रोदन रुप्सेको मात्र होइन । पुग्नलाई कठिनाइ अरू कैयौँ झरनाका नामावली छन् । रुप्से जत्तिकै छङछङ नाच्दै, गाउँदै यात्राको छलाङ मारेर बग्ने झरनाहरू यात्री नपुगे पनि बगिरहेछन् । बल्लतल्ल पुगेका यात्रीलाई स्वागत गरिरहेकै छन् । कैयौँ पटक कठोर चट्टानसँग पौँठेजोरी खेल्दै, ठक्कर खाँदै, ठोक्किँदै, बजारिँदै, बज्रिँदै, पोखिँदै, जम्दै बगिरहेछन् अविरल ।

यसरी धापमा पनि धपेटिँदै, खारिँदै, माझिँदै अलग्ग सौन्दर्य–सुगन्धको स्वाद चखाउने झरना तर त्यहाँ पुग्ने बाटो छैन । कतै काँडा पन्छाउँदै, कहीँ झोरझाडी फाँड्दै, कतै ढुङ्गाका भिर भयङ्कर । कुनै झरना पुग्न मरिहत्ते । गोठाला पाइला पछ्याउँदै । काँडाले लुगा च्यातेको । छालामा काँडाले चिथोरेर रगत चुसेको । अनि भत्भती पोलेर नमिठो दुखाइ । तर झरनासँगको साक्षात्कार बेग्लै आनन्द र बेग्लै मिठास । हर्ष र खुसीका पलहरू । 

फराकिलो र व्यवस्थित सडक बनेपछि सहज यात्राको ढोका बल्ल खुल्छ । साथै स्थानीय जीवन पनि चलायमान बन्छ । खाने बस्ने व्यवसाय फस्टाउँछ । स्थानीय उत्पादनले पनि बजार पाउँछ । फलतः त्यहाँ पर्यटक जाने आधार बन्छ । यसका साथै स्थानीय तहबाटै भए पनि प्राथमिक उपचार र अक्सिजनको व्यस्थापन भइदिँदा यात्रामा अचानक हुन सक्ने ज्यानको जोखिमबाट राहत मिल्छ ।

अन्नपूर्ण चक्रीय पदमार्ग प्रवेशमध्ये एउटा व्यस्त मार्ग यो । प्राकृतिक रूपमै आकर्षक पर्यटकीयस्थल रुप्से झरनाको सौन्दर्य बर्सेनि आउने बाढीपहिरोको कारण नासिँदै जान थालेको छ । विसं २०७७ साउनमा भएको भीषण वर्षापछि आएको बाढीले रुप्सेको सौन्दर्य क्षतविक्षत हुन पुग्यो । त्यसयता झरनाको प्राकृतिक स्वरूप नासिने क्रम बढ्दै गयो । यो विनाशपछि त्यस क्षेत्रको सौन्दर्य नै उजाडियो । अब रुप्से झरनालाई पुरानै स्वरूपमा फर्काउन निकै श्रम र लगानी आवश्यकपर्ने भएको छ । अहिले त रुप्से एक्लै उजाडिएको पहाडसँग नीरस जिन्दगी बाँचिरहेछ । पहिरोले छिया–छिया पखेरा । त्यही पखेरासँग रातदिनको साथसङ्गत । सायद हाँस्नुभन्दा बढी रुवाइ छ कि !

जे होस्, आँखाबाट बग्ने खुसीमा आँसु र मनमा सुख र सन्तुष्टिको लामो सुस्केरा यस्तै सौन्दर्यपानको तृप्तिपश्चात् मिल्छ । फलतः हाम्रा मनभित्रका नकारात्मक ऊर्जाहरूलाई मार्दै मस्तिष्क प्राकृतिक रूपमै सिर्जनशील स्वरूप प्रस्तुत हुन थाल्छ । देख्ने र हेर्नेले त झरनाको सौन्दर्यपान गर्ने मात्र हुन् । प्यास मेटाएर जानेहरूले ‘खोला त-यो लौरो बिर्सियो’ हुन्छ । त्यसैले त कसैले भनेका छन्– ‘जिन्दगी भनेको झरना जस्तै हो । अरूले हेर्दा सुन्दर देख्छन् तर ढुङ्गामा बजारिएर बग्नुको पीडा झरनालाई नै थाहा हुन्छ ।’

  

Author

ज्ञानेन्द्र विवश