• १५ मंसिर २०८१, शनिबार

पाथीभरामा सिसी क्यामरा जडान

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, असोज १२ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा सिसी क्यामरा जडान गरिएको छ । पाथीभरा दर्शनमा आउने दर्शनार्थीको सुरक्षा तथा भेटी व्यवस्था निगरानीका लागि सिसी क्यामरा जडान गरिएको हो । 

दर्शनार्थीका सुरक्षा तथा भेटी व्यवस्थापनलाई मजबुत (चुस्त) बनाउने उद्देश्यसहित पाथीभरा क्षेत्रमा सिसी क्यामरा जडान गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार पाथीभरा मन्दिर परिसर तथा तीर्थयात्रीको बासस्थान रहने फेदी बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएको छ । 

तीर्थयात्री बस्ने मुख्य बासस्थान रहेको पाथीभरा क्षेत्रको माथिल्लो फेदी र मन्दिर परिसरमा सिसी क्यामरा जडान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मन्दिर परिसरमा चार र माथिल्लो फेदीमा चार गरी आठ वटा सिसी क्यामरा जडान गरिएको छ । क्यामरा जडान भएपछि तीर्थयात्रीको सुरक्षामा सहयोग पुग्नुका साथै तीर्थयात्रीले चढाएको वा दान गरेको भेटी रकमलगायतका सामग्रीको सुरक्षामा सहयोग पुग्ने अपेक्षा राखिएको पनि उहाँले बताउनुभयो । 

पाथीभरा क्षेत्रमा फेस डिटेक्टिङ र हेड काउन्टिङ प्रविधिको क्यामरा जडान गरिएकाले यो थप प्रभावकारी हुने उहाँको भनाइ छ । यस्तै सिसी क्यामराको माध्यममार्फत तीर्थयात्रीको गणना गर्नमा समेत सहयोग पुग्ने विश्वास पाथीभरा क्षेत्र विकास समितिले राखेको छ । सिसी क्यामराको मनिटरिङ (निगरानी) भने फेदी प्रहरी चौकीबाट हुने समितिले जनाएको छ । समितिका अनुसार माथिल्लो फेदी हुँदै मन्दिर परिसरसम्म फाइबर तार टाँगेर सिसी क्यामरा जडान गरिएको छ । लाइटिङ (चट्याङ) को सम्भावित खतरासमेतलाई दृष्टिगत गरी सिसी क्यामरा जडान गरिएको कार्यकारी निर्देशक काफ्लेको भनाइ छ । सिसी क्यामरा प्रभावकारी हुनेमा विश्वस्त रहे पनि विद्युत्को समस्या भने हुन सक्ने उहाँले बताउनुभयो । 

करिब डेढ वर्षअघि नै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पाथीभरा क्षेत्र पु-याउने गरी नेपाल विद्युत् प्राधिकरणले ठेक्कासहितको प्रव्रिmया पूरा गरे पनि हालसम्म काम नभएको बताइएको छ । मन्दिरसम्म नै विद्युत् पुगेमा सिसी क्यामरा सञ्चालन सहज हुने र थप प्रभावकारी पनि हुने समितिले जनाएको छ । समितिका अनुसार सिसी क्यामरा जडान गर्नलाई कुल साढे सात लाख रुपियाँ खर्च भएको छ ।

यता समग्र तीर्थयात्री तथा माथिल्लो फेदीका बासिन्दा, दानस्वरूप सङ्कलन हुने भेटी रकमलगायतको निगरानी वा सुरक्षामा सिसी क्यामरा प्रभावकारी हुने र सिसी क्यामराको सुरक्षामा भने सरोकारवाला सबैले ध्यान दिनुपर्ने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेको भनाइ छ । उहाँले सिसी क्यामराको सुरक्षामा सबै पक्ष जिम्मेवार भई आफू र सार्वजनिक सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिनसमेत सबै पक्षलाई आग्रह गर्नुभयो ।