ललितपुर, असोज १३ गते । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा निजी क्षेत्रबाट निर्माण गरिएको बसपार्क नभत्काउन आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले पूर्व अरनिको यातायात प्रालिद्वारा निर्माण गरिएको सो बसपार्क नभत्काउन काठमाडौँ महानगरपालिकालाई शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
“निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नू नगराउनू भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरूलाई दिनू,” अदालतको आदेशमा उल्लेख छ । त्यसैगरी, अदालतले १५ दिनभित्र जवाफ पेस गर्न काठमाडौँ महानगरपालिकालाई भनेको छ ।
आदेश जारी हुन नपर्ने आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद, सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र आफैँ वा कानुनबमोजिमको वारेसमार्फत लिखित जवाफ पेस गर्नसमेत अदालतले महानगरलाई भनेको छ ।
त्यसै गरी अदालतले दुवै पक्षलाई राखेर छलफल गरेपछि मात्र अन्तरिम दिने वा नदिने भएकोले असोज २१ गते छलफलका लागि पेसी तोकेको छ । पूर्व अरनिको यातायात प्रालिले १४ रोपनी जग्गा भाडामा लिएर निर्माण गरेको सो बसपार्क प्रदेश र स्थानीय सरकारसँग अनुमति नै नलिई निर्माण गरेको भन्दै काठमाडौँ महानगरपालिका र प्रदेश यातायात मन्त्रालयले बसपार्क सञ्चालन गर्न नदिने अडान राख्दै आएका छन् ।