गोरखापत्र अनलाइन
काठमाडौँ, असोज १२ गते । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मूल्यवृद्धि र कलोबजारी कडाइका साथ नियन्त्रण गर्नेगरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको छ ।
बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएको जनगुनासो बढेको भन्दै कार्यवाहक प्रधानमन्त्री खड्काले सम्बन्धित अधिकारीसँग बजार अनुगमनको अवस्थाबारे जानकारी लिँदै उक्त निर्देशन दिनुभएको हो ।
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, निमित्त मुख्य सचिव, गृह सचिव, प्रधानमन्त्री कार्यलयका सचिव, काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, वाणिज्य विभाग, खाद्य प्रविधि गुणस्तर तथा नापतौल विभागका अधिकारीहरु सहभागी हुनुभएको थियो ।
बैठकमा अहिलेसम्म बजार अनुगमनको समीक्षा हुनुका साथै बजार अनुगमनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । बैठकमा कार्यवाहक प्रधानमन्त्री खड्काले खासगरी दैनिक उपभोग्य समानको अभाव हुन नदिन, कलोबजारी तथा अस्वभाविक मूल्यवृद्धि रोक्नेगरी प्रभावकारी अनुगमन बढाउन आग्रह गर्नुभयो ।
चाडपर्वका बेला उपभोक्तालाई कालोबजारी र महङ्गीको चपेटामा पर्ने अवस्था सिर्जना हुन नदिन सबै जिल्लामा भइरहेको अनुगमनलाई थप प्रभावकारी बनाएर अनुगमन गरेर नागरिकले राहतको अनुभुत गर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।
अहिलेको बजार अनुगन बढाउन र त्यसलाई थप प्रभावकारी बनाउन संघीय सरकार थप सहयोग गर्न तयार रहेको भन्दै बजार अनुगमनको काममा प्रदेश र स्थानीय सरकारलाई समेत समन्वय गराएर जान पनि उहाँले अधिकारीहरुलाई निर्देशन दिनुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले हरेक दिन के कति बजार अनुगमन भयो र दोषि देखिएकालाई के कारबाही भयो भनेर जनताले जानकारी पाउने गरी सूचना दिने प्रबन्ध मिलाउन पनि सम्बन्धित अधिकारीलाई आग्रह गर्नुभयो ।