• १४ मंसिर २०८१, शुक्रबार

सवारी साधन चेकजाँचमा कडाइ, नियम उल्लङ्घन गर्ने कारवाहीमा

blog

जिल्ला ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमन गर्दै । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, असोज १२ गते । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई नवलपुरमा तीव्र पारेको छ । चाडपर्वमा यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै सवारी जाँच तथा अनुगमन शुरु गरेको छ । पछिल्लो समय ट्राफिक नियम उल्लघंन गरि सवारी चलाउनेको संख्या बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । 

दैनिकजसो चेकजाँच गरिएको र नियम उल्लघंन गरि सवारी चलाउनेलाई कारवाही स्वरुप जरिवाना गर्ने गरिएको छ । यात्रुवाहक बसमा सिट क्षमताभन्दा बढी यात्रु राखे÷नराखेको, भीडभाड गरे÷नगरेको, बढी भाडा लिए÷नलिएको, जस्ता विषयमा अनुगमन थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख अच्युत राज आचार्यले बताउनुभयो ।

अनुगमनका क्रममा आरक्षण सिट (महिला, अपाङ, वृद्धवृद्धा) लेखिएको मेटिएको, सोहि  अनुसार नराखेको, कुनै सवारीमा भाडादर टाँस नगरेको, विद्यार्थीलाई छुट नदिने र पछाडीको सिटमा मात्र राख्ने गरेको गुनासो यात्रुहरुले गरेका थिए । यस्तै कतिपय यात्रुहरुले समयमा गाडी नछुटेको, एउटै सिटमा दोहोरो टिकट दिएको, गाडी नम्बर उल्लेख नगरी टिकट दिँदा समस्या भएको गुनासो गरेको सूचना अधिकारी प्रहरी बरिष्ठ नायव निरीक्षक मिनबहादुर कुँवरले जानकारी दिनु भयो । जिल्लाको गैडकोट देखि दाउन्ने सम्म दैनिक रुपमा यात्रुवाहक बसमा अनुगमन र चेकचाँज गर्ने गरेको उहाँले बताउनु  भयो ।

यता गैडाकोटमा दिनहुँजसो ट्राफिक नियम उल्लघंन गर्ने दश सवारी साधन कार्वाहीमा पर्ने गरेको अस्थायी ट्राफिक पोष्ट गेडाकोटका ट्राफिक प्रहरी बरिष्ठ निरीक्षक लेखनाथ पुरीले बताउनु भयो । उहाँले भन्नुभयो “ विशेषत चाडपर्वमा एउटै सवारी साधन सघनरुपमा प्रयोग हुने तर उचित मर्मत सम्भारमा ध्यान नदिँदा दुर्घटना हुने देखिएकाले सार्वजनिक सवारी साधनका धनी, चालक एवं यातायात व्यवसायीलाई आफू मातहतका साधन निरन्तर जाँच र मर्मतका लागि अनुरोध गर्ने गरिएको  छ । ” अनुगमन निरन्तर जारी रहने जनाइएको छ ।

नियम उल्लङ्घन गर्नेलाई कारवाही

जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरले नियम उल्लङ्घन गर्ने सार्वजनिक सवारी साधनलाई कारवाही गरेको छ । आर्थिक वर्ष २०८०–८१ को दुई महिनामा तीन हजार एक सय ६१ सवारीसाधन कारवाहीमा परेका छन् । सवारी साधन दुर्घटनामा पर्दा यात्रुको गल्ती, ओभरटेक, तीव्र गति, मापसे, मोबाइल फोनको प्रयोग, ओभरलोड, चौपाया, यान्त्रिक गडबडी र सडकका कारणले बढि सवारी दुर्घटना हुनेगरेको पाइन्छ ।

चालु आर्थिक वर्षको साउन र भदौसम्म भएका कारबाहीबाट २६ लाख ८५ हजार रुपियाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख आचार्यले बताउनुभयो । नवलपुरमा गत आ.व २०७९–८० मा ३७ हजार ९ सय ५ सवारी कारवाहीमा परेका हुन । 

कारवाहीमा परेका सवारी साधनबाट तीन करोड १० लाख राजस्व सङ्कलन भएको प्रमुख आचार्यले जानकारी दिनुभयो । यसको नियन्त्रण र न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेको छ । 

बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालयमा रिफ्रेस सेन्टरको व्यवस्था गरिएको छ । लामो दूरीका सवारीसाधन जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको रिफ्रेस सेन्टरमा एक घण्टा आराम गरेर गन्तव्यमा आवतजावत गर्नेगरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताउनुभयो ।