जीवछ यादव
लहान, असोज १२ गते । लहान नगरपालिका –२३ गढाका ७५ वर्षीय मृतक दाजुको मुख हेर्न माइतीघर आउनुभएकी ७० वर्षीय रकसीदेवी सहनीको पनि निधन भएको छ ।
दाजु–बहिनीको मृत्युले सहनी टोल शोकमा परेको छ । शोकाकूल सहनी परिवारलाई सान्त्वना दिन सहनी टोलसमाजका अगुवाहरुको बाक्लो उपस्थिति छ ।
भारत बिहार मधुवनी जिल्ला बरुवार घर रहेकी रकसीदेवी मोवाइलबाटै दाजुको बिहीबार राति नै मृत्यु भएको खवर पाउनुभएको थियो । शुक्रबार ११ बजे लहान–२३ गढा आउनुभएकी रकसीदेवी मृतक दाजुको मुख हेरेको केही मिनेटमै लडेर मृत्यु भएको मृतक दुखी सहनीको छोरा मनोज सहनीले बताउनुभयो ।
नजिकै रहेको बलान नदीमा पिताको दाहसंस्कार आज गरिने र फ्ुपुको दाहसंस्कारका लागि उहाँको छोराहरु भारतबाट आएपछि मात्र हुने सहनी परिवारले जनाएको छ ।
पिताको मृत्युबाट शोकमा त परेकै थियो, फुपुको समेत मृत्यु भएपछि सहनी टोल नै शोकमा डुबेको उहाँले बताउनुभयो । दाजुको लाश जलाउन लागेका बेला बहिनीको मृत्यु भएको घट्ना पहिलो पटक भएकाले सहनी टोल शोकमग्न भएको लहान –२३ का वडाध्यक्ष बद्रीनारायण यादवले बताउनुभयो ।
सहनीजस्तो इमानदार बामपन्थी नेता पाउन मुस्किल हुन्छ, स्थानीय नेकपा एमालेका नेता गुन्देश्वर यादवले भन्नुभयो । पुरानो बामपन्थी नेता स्वर्गीय चन्द्रशेखरलाल कर्णका शिष्य पछि नेकपा एमाले र २०५३ सालमा नेकपा माओवादीको सदस्यता ग्रहण गरेपछि निरन्तर माओवादी पार्टीमा सक्रिय रहनुभएको सो दलका नेताहरुको भनाइ छ ।