• १४ मंसिर २०८१, शुक्रबार

एमाले कोशी प्रदेशको प्रथम अधिवेशन सुरु

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेश अधिवेशनको उद्घाटन गर्नुहुँदै । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली

विराटनगर, असोज १२ गते । नेकपा (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले समारोहस्थलमा राखिएको डिजिटल ब्यानरलाई रिमोट कन्ट्रोलको स्वीच थिचेर अधिवेशनको उद्घाटन गर्नुभयो । 

अधिवेशनमा सहभागी हुन एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरु, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरु सहभागी रहनुभएको छ ।  

मुलुक प्रदेश संरचनामा गएपछि एमालेले पहिलो पटक कोशी प्रदेशको अधिवेशन गरेको हो । यस अधिवेशनमा एक हजार ४७ प्रतिनिधि सहभागी हुने अधिवेशन आयोजक समितिले जनाएको छ । 

अधिवेशनमा प्रदेशका  १३७ पालिका, २३ जनवर्गीय सङ्गठन, दलित, मजदुरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जानकारी दिनुभयाे । अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । 

यसैबीच विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै एमाले अध्यक्ष ओलीले सरकारले जनभावना अनुसार काम नगरेको टिप्पणी गर्नुभयो । यो सरकार रहेसम्म मुलुकलाई फाइदा नहुने उहाँको भनाइ छ । 

सरकारमा कांग्रेसको भूमिका नदेखिएको पनि उहाँको टिप्पणी छ । सरकारको विकल्पका बारेमा दलहरुले छलफल चलाउने बेला भएको छ। तर आफूहरु सरकारमा जान इच्छुक नरहेको उहाँले प्रष्ट पार्नुभयो ।