• ९ पुस २०८१, मङ्गलबार

पाल्पाका अधिकांश पशु बाहिर निर्यात

blog

दुध उत्पादनका लागि पाल्पाका किसानले पालेका गाई । तस्विर : रेखीराम राना

रेखीराम राना

पाल्पा, असोज १२ गते । पाल्पाबाट पशु निर्यात गर्ने काम बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७९–८० मा पशुजन्य पदार्थको निर्यात एक वर्षअघिको तुलनामा चार गुणाले बढेको हो ।

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार पाल्पाबाट मासुका लागि खसी, बोका, पाडा, बङ्गुर, कुखुरा निर्यात हुने गरेको छ । यो परिमाण हरेक वर्ष बढ्दै गएको केन्द्रका प्रमुख दुर्गाप्रसाद खनालले बताउनुभयो । पाल्पामा मासुका लागि बाहिरी जिल्लाबाट भित्रिनेभन्दा बाहिरिने बढी रहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार गत आवमा ६२ करोड ९५ लाख ६५ हजार बराबरको पशु पाल्पाबाट निर्यात भएको थियो । सोही वर्ष जिल्लामा १६ करोड १३ लाख ६० हजार मूल्यको पशु आयात भएको थियो । 

पाल्पामा पछिल्लो समय व्यावसायिक बाख्रापालन, पाडापालन, बङ्गुरपालन, कुखुरापालन बढेका कारण निर्यात बढ्दै गएको केन्द्रका पशु चिकित्सक नवीन बस्यालले बताउनुभयो । पाल्पाबाट अण्डासमेत बाहिरी जिल्लामा निर्यात हुनेगरेको छ । 

माछा र हाँस भने तराईका जिल्लाबाट आयात हुनेगरेको बस्यालले बताउनुभयो । जिल्लाका लागि आवश्यकभन्दा बढी उत्पादन भएकाले दुध तथा मासुका लागि पशु बाहिरी जिल्लामा निर्यात भएको केन्द्रले जनाएको छ । पाल्पाका विभिन्न स्थानबाट गत वर्ष ५२ हजार ८७२ मेट्रिक टन दुध उत्पादन भएको थियो । पाल्पाका लागि वार्षिक २२ हजार पाँचसय मेट्रिक टन दुध आवश्यक पर्छ । 

यस्तै, पाल्पाका लागि वार्षिक तीन हजार ४३० मेट्रिक टन मासु आवश्यक भए पनि जिल्लामा वार्षिक उत्पादन १० हजार ३३३ मेट्रिक टन उत्पादन हुँदैआएको छ । कुखुराको अण्डा पनि पाल्पाका लागि आवश्यकभन्दा बढी उत्पादन भइरहेको केन्द्रका नासु युवराज ज्ञवालीले बताउनुभयो । 

बढी भएको अण्डा, मासु तथा दुध बाहिरी जिल्लामा निर्यात हुनेगरेको उहाँको भनाइ छ । बढी भएका दुध तथा मासुजन्य पदार्थ पाल्पाको सहकारीमार्फत बिक्री हुँदैआएको उहाँले बताउनुभयो । मासुका लागि हाँस र माछा भने रुपन्देही, कपिलवस्तु जिल्लाबाट आयात हुनेगरेको छ ।