• १४ मंसिर २०८१, शुक्रबार

टोल आफैँ सरसफाइ गर्ने अभियान प्रभावकारी

blog

आफ्नो टोलमा रहेको बाटोघाटो सरसफाइ गर्दै फुङ्लिङ नगरपालिका –५ का स्थानीय । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १२ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका –५ ले सरसफाइ अभियान सुरु गरेसँगै टोलबस्तीहरु सरसफाइयुक्त हुन थालेका छन् । आफ्नो टोल आफैँ सरसफाइ गर्नुपर्छ भन्ने सन्देशसहित हप्ताको एक दिन श्रमदान अभियान सुरु गरेपछि टोल तथा बस्तीहरु सरसफाइयुक्त हुन थालेका हुन् ।

केही हप्ता अघिदेघि प्रत्येक शुक्रबार श्रमदानमार्फत टोल–टोलमा सरसफाइ गर्न थालिएको फुङ्लिङ नगरपालिका –५ का वडाध्यक्ष सोजित श्रेष्ठले जानकारी दिनुभयो । वडाध्यक्ष श्रेष्ठका अनुसार आफ्नो टोलबस्तीको आफैँ सरसफाइ गरी सुन्दर र स्वच्छ वातावरण सिर्जना गरौं भन्ने उद्देश्यसहित सरसफाइ अभियान सुरु गरिएको हो । 

श्रमदान अभियान सुरु गरिएपछि टोलबासीहरु स्वतःस्फूर्त रुपमा सहभागी भएर आफ्नो टोलको सरसफाइ गर्न थालेका छन् । आफ्नो टोलमा रहेको बाटोघाटो, पाटीपौवा, चौतारा, मठमन्दिर जस्ता सार्वजनिक स्थलको सरसफाइ गर्दैआएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । वडाका जनप्रतिनिधिसहित सर्वसाधारणहरु आफूसँग भएको झाडु, हँसिया, सिक्कल जस्ता घरेलु औजारसहित सरसफाइमा जुट्ने गरेका छन् । 

आफ्नो क्षेत्रमा रहेका बाटोघाटो तथा सार्वजनिक स्थलको सरसफाइ गर्न थालेपछि टोलबस्तीहरु सरसफाइयुक्त हुँदै गएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत साताबाट फुङ्लिङ नगरपालिका –५ को ठूलोगाउँमा रहेको गोरेटो बाटो साथै सार्वजनिक स्थलको सरसफाइ गर्न सुरु गरिएको र शुक्रबार नवज्योति स्कूल हुँदै डाँडागाउँ क्षेत्रमा सरसफाइ गरिएको छ । उहाँले सरसफाइ अभियानलाई टोल–टोलमा जारी राख्ने पनि जानकारी दिनुभयो ।