शान्ता अधिकारी
चितवन, असोज १२ गते । हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले यस वर्ष पाँच करोड रुपियाँ खर्च गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२४ लाई लक्षित गरी भरतपुर भ्रमण वर्ष घोषणा गरेको महानगरले यतिवेला सहरका मुख्य सडक र मानिसको बढी आवत–जावत हुने क्षेत्रमा वृक्षरोपण र सरफाइमा ध्यान दिन थालेको छ ।
शुक्रबार बिहान नारायणगढ सहिद चोकदेखि बेलचोकसम्मको क्षेत्रमा वृक्षरोपण र सरसफाइ गरिएको छ । पछिल्लो समय महानगरले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र सरसफाइसँग सम्बन्धित विभिन्न संघ संस्था, वडा र टोलविकास समितिलाई एकत्रित गरी वृक्षारोपण सुरु गरेको हो ।
वृक्षरोपण महाअभियान नामकरण गरिएको सो कार्यक्रम प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार गर्ने क्यालेण्डर बनाइएको छ । वृक्ष रोपण एवं सरसफाइमा जुटनु भएकी महानगर प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षलाई मध्यनजर गर्दै सहरलाई सौन्दर्यीकरण गर्न वृक्षरोपण र सरसफाइको काम अगाडि बढाइएको जानकारी दिनुभयो ।
सडक कालोपत्रे, सडक मार्किङ र स्मार्ट सडक बत्तीको काम प्राविधिकरुपमा र निर्माण कम्पनीलाई जिम्मेवारी दिएर गरिएको भन्दै उहाँले सरसफाइ सचेतनाका लागि वृक्ष रोपण र सरसफाइलाई क्यालेण्डर बनाएर सुरुआत गरिएको बताउनुभयो । उहाँका अनुसार हरियाली प्रवद्र्र्धन र सरसफाइ अभियानअन्तर्गत यही वर्ष एक लाखभन्दा बढी बिरुवा रोप्ने योजना महानगरको छ ।
महानगर प्रमुख दाहालका अनुसार १६ मिटरभन्दा फराकिलो सडकको दायाँवायाँ महानगरले वृक्ष रोपण गरिदिने र संरक्षण सम्बद्र्धन पनि महानगरले नै गर्ने छ भने १६ मिटरभन्दा साँघुरा सडकमा वृक्षरोपण गरेर वडालाई थप जिम्मेवार बनाउने महानगरको योजना छ ।
वृक्ष रोपण अभियानको समापन गर्दै महानगर प्रमुख दाहालले सन् २०२४ को भरतपुर भ्रमण वर्षको औपचारिक थालनीपूर्व नै पूर्व–पश्चिम राजमार्गको पुलचोक गोन्द्राङ खण्ड र केन्द्रीय बस टर्मिनलदेखि आपटारीसम्मको वाइपास रोडको केही सौन्दर्यीकरणको काम बाहेकको काम सकिने बताउनुभयो । उहाँका अनुसार सडकको काम सकिएलगत्तै स्मार्ट सडक बत्ति राख्ने र थप सौन्दर्यीकरणको काम गरिनेछ ।
महानगरले गत महिनादेखि सुरु गरेको वृक्षरोपण महाअभियान अन्तर्गत गत महिना नारायणी नदी किनारको रिभरवीच नजिकैको क्षेत्रमा ठूला प्रकृतिका वृक्षहरुको रोपण गरिएको थियो । यो महिनाको दोस्रो शुक्रबार सहिद चोकदेखि बेलचोकसम्मको क्षेत्रमा साना विरुवा रोपण गरिएको छ ।
वृक्षरोपण र सरसफाइ अभियानमा प्रमुख जिल्ला अधिकारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रमुखलगायत सुरक्षा निकायका प्रमुख, विभिन्न वडाका वडाध्यक्ष एवं सदस्य, सम्बन्धित टोलका प्रतिनिधि एवं स्थानीयको सहभागिता थियो ।