• ८ पुस २०८२, मङ्गलबार

प्रभातफेरीमा मुख्यमन्त्री कार्की सहभागी

blog

मोरङ, असोज १२ गते ।  विश्व मुटु दिवसका उपलक्ष्यमा आज  बिहान विराटनगरमा आयोजित सचेतनामूलक प्रभातफेरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागी हुनुभयो ।

नोबेल शिक्षण अस्पतालले  महेन्द्रचोकबाट तीनपैनी चोकसम्म  आयोजना गरेको प्रभातफेरीमा उहाँ पनि सहभागी हुनुभएको हो ।

यसैगरी स्थानीय जेलनमार्क औषधि उद्योगले विराटनगरस्थित  कोशी अस्पतालबाट निकालेको प्रभातफेरीले नगरको मुख्य–मुख्य भाग परिक्रमा गर्दै तीनपैनी चोकमा आयोजित कोणसभामा परिणत भयो ।

कोणसभामा कोशी अस्पतालका चिकित्सक डा. दीपक सिग्देल, नोबेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेश नेपाल र औषधि उद्योगका प्रतिनिधि निरज कर्णले धूमपान त्यागी  दैनिक व्यायाम गर्दा र स्वच्छ खानपानले  मुटरोग लाग्नबाट बच्न सकिने बताउनुभयो ।

उहाँहरूले विश्व मुटु महासङ्घको प्रतिवेदनअनुसार सन् २०१९ मा मृत्यु हुनेमध्ये ८५ प्रतिशतको मृत्यु दृदयाघात  र स्ट्रोकका कारण भएकाले समयमै आफ्नो मुटु जाँच गरी औषधि सेवन गरेमा अकाल मृत्युबाट जोगिन सकिने विचार व्यक्त गर्नुभयो  ।

प्रभातफेरीमा कोशी र नोबेल अस्पतालका चिकित्सक, चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थी एवं सर्वसाधारणको सहभागिता थियो । रासस