• १९ असार २०८१, बुधबार

दुध उत्पादन बढ्यो, किसान मर्कामा

blog

शशिधर पराजुली

विराटनगर, असोज १२ गते । कोशी प्रदेशमा तीन वटा डेरी उद्योगले पाउडर दुध उत्पादन गर्न थालेका छन् । गएको चैत महिनासम्म एउटा उद्योगले मात्र पाउडर उत्पादन गरिरहेकामा बजारमा दुधको उत्पादन बढेपछि तीन वटा प्लान्टले नियमित धुलो दुध उत्पादन गरिरहेका छन् । 

कोशी प्रदेशमा दुध उत्पादन बढेको र उत्पादन भएको दुधले बजार नपाउँदा दुधलाई पाउडरमा परिणत गरेर मौज्दात राख्न थालिएको छ । तीन वटा पाउडर प्लान्ट नियमित सञ्चालन गर्दा पनि उत्पादित सबै दुध खपत हुन सकेको छैन । किसानले उत्पादन गरेको दुध सहकारीहरूले सङ्कलन नगर्दा किसानले अहिले अघोषित मिल्क होलिडे सामना गरिरहेका छन् । पाँच लिटरभन्दा कम उत्पादन गर्ने किसानको साँझको दुध डेरीहरूले सङ्कलन गर्न छोडेका छन् । यसले किसान समस्यामा परिरहेको भेषराज आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच लिटरभन्दा कम उत्पादन गर्ने किसानबाट सहकारीले एक साँझको दुध किनिरहेको छैन, यो मिल्क होलिडेकै अवस्था हो ।”

केही महिनायता दुध उत्पादनमा निरन्तर वृद्धि भइरहेका कारण उत्पादित दुधको व्यवस्थापन गर्ने चुनौती डेरी उद्योगहरूले बेहोर्नु परेको छ ।

गएको फागुन महिनासम्म उत्पादित दुध जेनतेन बजारमा खपत भएको र त्यसपछि बजारको मागभन्दा बढी दुध बजारमा आउनेक्रम अहिले निरन्तर छ । फागुन, चैत महिनासम्म विराटनगरको सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिजले बढी भएको दुधलाई पाउडरमा रूपान्तरण गर्दै आएकामा अहिले तीन वटा उद्योगले पाउडर बनाइरहेका छन् । कोशी प्रदेशमा तीन वटा पाउडर प्लान्ट सञ्चालन भए पनि किसानले उत्पादन गरेको सबै दुध खपत नहुने अवस्था आएको डेरी उद्योगका सञ्चालकले जानकारी दिएका छन् । 

कोशी प्रदेशमा दुग्ध विकास संस्थान, सगरमाथा विशिष्टीकृत दुग्ध सहकारी संस्था लिमिटेड र सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिजले केही समययता निरन्तर पाउडर उत्पादन गरिरहेका छन् । किसानबाट सङ्कलन भएको सबै दुध बजारमा खपत नभएका कारण डेरी उद्योगले पाउडर बनाएर दुध मौज्दात राखिरहेका छन् । 

दुधको उत्पादन बढेसँगै दैनिक आठ हजार लिटर दुध सङ्कलन गर्दै आएको दुग्ध विकास संस्थानको विराटनगरस्थित दुग्ध वितरण आयोजनाले दैनिक २५ हजार लिटर दुध सङ्कलन गर्न थालेको छ । सङ्कलितमध्ये दैनिक छ हजार लिटर हाराहारी दुधले मात्र बजार पाइरहेको डिडिसीका आयोजना प्रमुख परमानन्द चौधरीले जानकारी दिनुभयो । संस्थानको ढल्केबर र हेटौँडा आयोजनाबाट पनि खपत नभएको दुध पाउडर बनाउन विराटनगर आइरहेको उहाँले बताउनुभयो । 

विभिन्न ४२ वटा दुग्ध सहकारी मिलेर स्थापना भएको सगरमाथा विशिष्टीकृत सहकारी संस्थाले प्रदेश सरकारको सहयोगमा स्थापना गरेको पाउडर प्लान्ट औपचारिक रूपमा उद्घाटन भइसकेको छैन तर साउन १५ मा परीक्षण उत्पादन गरको प्लान्ट त्यसयता निरन्तर सञ्चालन भइरहेको छ । 

अहिलेसम्म झन्डै पाँच लाख लिटर दुधको पाउडर बनाइसकेको संस्थाका व्यवस्थापक मेघराज लुइँटेलले जानकारी दिनुभयो तर पनि किसानले उत्पादन गरे जति दुध सहकारीले लिन नसक्ने अवस्था देखिएको उहाँले बताउनुभयो । दुधको उत्पादन बढेको तर बजार नबढ्दा उत्पादित दुधको खपतमा समस्या देखिन थालेको उहाँले बताउनुभयो । सुनसरीको तरहरास्थित कामधेनु डेरी उद्योगले गत वर्षको भदौ, असोज महिनामा दैनिक १० हजार लिटर दुध सङ्कलन गर्दै आएकामा यस पटक दैनिक १५ हजार लिटर सङ्कलन गरिरहेको जनाएको छ । 

यसै गरी विराटनगरमा सञ्चालित सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिजले नियमित रूपमा धुलो दुध उत्पादन गरिरहेको जनाएको छ । उद्योगका सञ्चालक अनुज यादवले दुधको उत्पादन बढेको र बजार केही घटेको अवस्थाले असन्तुलन देखिएको जानकारी दिनुभयो । सूर्योदयमा सिराहा, झापा, मोरङ र सुनसरीका विभिन्न डेरी उद्योगले सङ्कलन गरेको दुध पाउडरमा परिणत गर्न ल्याउने गरेका छन् । 

बङ्गलादेशमा बजार खोज्दै उत्पादक 

कोशी प्रदेशमा दुधको उत्पादन बढी भएपछि नयाँ बजार खोजी गर्न थालिएको छ । कोशी प्रदेशमा दुध उत्पादन गरिरहेका डेरी उद्योगको एउटा प्रतिनिधिमण्डल यति बेला बङ्गलादेश भ्रमणमा छ । ऋतिका डेरी उद्योग, कामधेनु डेरी उद्योग, सगरमाथा विशिष्टीकृत सहकारी संस्था र नेपाल डेरी एसोसिएसनसमेतको प्रतिनिधिमण्डलले बङ्गलादेशमा दुध निर्यात गर्ने विषय अध्ययन गरिरहेको सूर्योदय डेरीका सञ्चालक यादवले जानकारी दिनुभयो ।

यहाँ सञ्चालिन अधिकांश डेरी उद्योगले बढी भएको दुधको पाउडर बनाएर राखेका छन् । विगतमा पाउडर खरिद गरेर सुक्खा सिजनमा प्रयोग गर्ने सबै डेरीसँग यस पटक आफैँले पाउडर उत्पादन गरी जोहो गरेका छन् । असोजदेखि अझ दुध उत्पादन बढ्ने सिजन सुरु हुने भएकाले बनेको पाउडर बिक्री गर्नुपर्ने चुनौती थपिएको छ । 

दुग्ध वितरण आयोजना विराटनगरसँग अहिले ४० हजार किलोग्राम धुलो (पाउडर) दुध र ७० हजार किलो नौनी (बटर) मौज्दात छ । डिडिसीले आफ्नो १० मध्ये सात सङ्कलन केन्द्रबाट नियमित दुध सङ्कलन गर्दै आएको छ । इलामको कुटीडाँडा, लक्ष्मीपुर र पुवाखोला सङ्कलन केन्द्रबाट भने अहिले दुध सङ्कलन बन्द गरेको आयोजना प्रमुख चौधरीले जानकारी दिनुभयो ।