• १४ मंसिर २०८१, शुक्रबार

स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

blog

स्याङ्जा समाचारदाता

स्याङ्जा, असोज १२ गते । अर्जुनचौपारी गाउँपालिका–६, दरौमा रहेको दरौ माध्यमिक विद्यालयमा स्क्रब टाइफस रोग देखिएपछि विद्यालय बन्द गरिएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीमा उक्त रोग देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको हो । विद्यालयका शिक्षक दुर्गाबहादुर रोकाले पठनपाठन भइरहेको समयमा विद्यार्थीमा एक्कासि उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएपछि विद्यालय बन्द गरिएको बताउनुभयो । 

लक्षण देखिएका विद्यार्थीलाई उपचारार्थ जिल्ला अस्पताल स्याङ्जामा परीक्षण गर्दा स्क्रब टाइफस भएको पुष्टि भएको हो। अस्पतालमा भर्ना भएका २८ विद्यार्थीमध्ये अधिकांशमा स्क्रब टाइफस देखिएको रोकाले बताउनुभयो । लक्षण देखिएका ३० विद्यार्थीको दरौ स्वास्थ्य चौकीमा जिल्ला अस्पतालको स्वास्थ्य टोलीले ल्याब परीक्षण गर्दा उनीहरूमा भने पुष्टि नभएको रोकाले बताउनुभयो । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ११ का विद्यार्थी र चार शिक्षकमा लक्षण देखिएको छ । साना कक्षाका विद्यार्थीमा देखिएको छैन । अर्जुनचौपारीका स्वास्थ्य प्रमुख ईश्वर केसीले मुसामा देखिने किर्नाजस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने नसर्ने बताउनुभयो । यो रोग ‘माइट’ मा पाइने ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने बताउँदै केसीले ‘माइट’ प्रायः झाडी, खेतबारी, वनजङ्गल तथा फोहोर हुने ठाउँमा देखिने बताउनुभयो ।