• १३ मंसिर २०८१, बिहिबार

आरक्षण सिट कार्यान्वयन गरिने

blog

जुम्ला समाचारदाता

जुम्ला, असोज १२ गते । जुम्ला सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिलाई आरक्षण सिट छुट्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको बैठकमा आरक्षण सिट कार्यान्वयन गरिने सहमति भएको छ। प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार आरक्षण सिटसहित पहिले नै निर्णय गरिएको भाडादर कार्यान्वयन गरिने निर्णय भएको छ। दुर्गममा सिट आरक्षण नहुँदा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले बारम्बार गुनासो गरेपछि सो छलफल आयोजना गरिएको हो। 

जिल्ला प्रशासन कार्यालयमा २०७८ साल पुस २९ गते बसेको बैठकमा जुम्ला जिल्लाबाट लामो दुरीका सवारीसाधन तथा अन्य सवारीसाधनले नेपाल सरकारको प्रचलित ऐन कानुनबमोजिम ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा महिला सिट आरक्षण तथा छुटको व्यवस्था गरिने निर्णय भएको थियो। तथापि, सो निर्णय कार्यान्वयनमा आएको थिएन। सोही निर्णयलाई कार्यान्वयन गर्ने सहमति बैठकमा भएको बताइन्छ।

२०७८ साल पुस २९ गतेको बैठकले निर्धारण गरेको भाडादरसमेत कार्यान्वयनमा आएको थिएन। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा, स्थानीय प्रशासन, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी बसेको बैठकले सो भाडादर कार्यान्वयनसमेत गर्ने निर्णय गरेको छ। 

सो निर्णय अनुसार अब नयाँ भाडादर जुम्लादेखि सुर्खेतसम्म (२३८ किमी) बसको भाडा एक हजार २८३ रुपियाँ, मिनीबसको भाडा एक हजार ५७० रुपियाँ र जिपको भाडा एक हजार ८४५ रुपियाँ निर्धारण गरिएको छ। 

जुम्लादेखि नेपालगन्ज बसभाडा एक हजार ६३३ रुपियाँ, मिनीबस एक हजार ९८० रुपियाँ र जिपको भाडा दुई हजार ३४५ रुपियाँ तोकिएको छ। कच्ची सडक जुम्लादेखि मुगुसम्म जिपको भाडा एक हजार पाँच सय रुपियाँ रहेको छ। ज्येष्ठ नागरिक सङ्घ जुम्लाका सचिव तुलाराम न्यौपानेले ज्येष्ठ नागरिकले अहिलेसम्म आरक्षण सिट नपाएको बताउनुभयो।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले यातायात क्षेत्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिलाको आरक्षण अधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो।