रमेश रावत
कमलबजार, असोज १२ गते । विश्वका विभिन्न देशका करिब छ सय नागरिक यति बेला अछाम जिल्लाको पर्यटकीय क्षेत्र रामारोशनमा भेला भएका छन् । ‘रेन्बो ग्यादरिङ’ का लागि जम्मा भएकाहरू रामारोशन घुम्न पाएकामा मक्ख देखिन्छन् ।
प्रकृतिसँग रमाउन रामारोशन आइपुगेका विदेशी नागरिकले रामारोशन विश्वकै सुन्दर ठाउँ भएको दाबी गरेका छन् । खुला पाटनमा टेन्ट राखेर रमाइरहेका रेन्बो परिवारका सदस्यहरूले स्वच्छ, सफा हावापानी, शान्त स्थान र प्रकृति सुन्दरताका लागि आफूहरू रामारोशन आएको बताएका छन् ।
इरानबाट आएकी २२ वर्षीय करिन सर्खालीले आफूलाई रामारोशनको सुन्दरता र हावापानीले लोभ्याएको बताउनुभयो । आफ्नै देशमा शिक्षण पेसा गरिरहेकी करिनले रामारोशन ओझेलमा परेकोप्रति चित्त दुखाउनुभयो ।
सहर बजारको भिडभाड, कोलाहल, हत्या, हिंसा, द्वन्द्व जस्ता घटनाबाट आजित भएर आफूहरू प्रकृतिसँग रमाउन रामारोशन आइपुगेको इजरायली नागरिक नाओमल इलाले बताउनुभयो । यहाँ पुगेका अधिकांशले आफूलाई शिव भगवान्को भक्तका रूपमा प्रस्तुत गर्ने गरेका छन् । रामारोशनका हरियाली फाँट तथा मैदानमा समूह बनाएर विभिन्न योगा तथा साङ्गीतिक कार्यक्रम गरी रमाइरहेका देखिन्छन् । यहाँको रोशन मैदानको बिचमा भगवान् शिवको कलात्मक मन्दिर बनाइएको छ ।
त्यो खाना पकाउन बनाइएको त्रिपालभित्र शिवमन्दिर भएको विश्वास उहाँहरूमा छ । प्रत्येक व्यक्तिको आआफ्नै पेसा रहेको बुझिएको छ । शिक्षक, विद्यार्थी, सरकारी कर्मचारी, कलाकार, कृषिविज्ञदेखि डाक्टरसमेत यहाँ आइपुगेका छन् ।
आफ्नो परिवारको कोही सदस्य बिरामी परेमा उपचारका लागि प्राथमिक स्वास्थ्य उपचार केन्द्रसमेत स्थापना गरिएको छ । उक्त उपचार केन्द्रमा युएईका ३४ वर्षीय हम्मा महमद जायदलगायत छ जनाको उपचार गरिएको भारतीय नागरिक अरविन्द नेगीले बताउनुभयो ।
अरविन्दले भन्नुभयो, “हामी कुनै नराम्रोका कामका लागि होइन, आफूखुसी प्रकृतिको काखमा योगा गर्न र रमाइलो गर्न आइपुगेका हौँ । उत्तराखण्डस्थित ऋषिकेशमा योगा गुरुका रूपमा काम गरिरहनु भएका अरविन्दले रेन्बो फेमिली प्रकृति मन पराउने विश्वभरका मानिसको समूह भएको स्पष्ट पार्नुभयो ।
जिल्ला प्रहरी कार्यालय आछमका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष पाठकले रामारोशनमा ६४१ विदेशी नागरिक पुगेको जानकारी दिनुभयो । उनीहरू योगा, ध्यान र गीत सङ्गीतमा रमाउने गरेको थप जानकारी पनि उहाँले दिनुभयो ।
रामारोशनको सुन्दरता जोगाउन प्लास्टिकजन्य सामानमा प्रतिबन्ध लगाउन स्थानीय सरकार तथा सर्वसाधारणलाई सुझाउने गरेका छन् । आफूले गरेको फोहोर खाल्डो खनेर डिस्पोज गर्ने गरेका छन् । सबैका लागि एउटै चुलो बनाइएको छ भने आवश्यक खाद्यान्नलगायत तरकारी, दुध, दहीलगायतका वस्तु नजिकको गाउँबस्तीबाट खरिद गर्ने गरेका छन् ।
स्थानीय धर्म रोकायाले रामारोशन पुगेका विदेशीका क्रियाकलापमाथि शङ्का गर्ने कुनै अवस्था नरहेको बताउनुभयो । प्रकृतिसँग रमाउने, पाटन डुलेर बिताउने र समूह बनाएर रमाइलो गर्ने भएकाले स्थानीय युवकयुवतीसमेत रेन्बो परिवारका सदस्यसँग घुलमिल हुने गरेको उहाँले बताउनुभयो ।
करिब दुई हजार विदेशी आउने अनुमान गरिएको रामारोशन ग्यादरिङका सम्बन्धमा आयोजक संस्था तथा व्यक्ति कोही कसैले जिम्मेवारी नलिँदा केही दिन समस्या भएको थियो तर पनि विभिन्न स्थानका र हवाई मार्गबाट पर्यटक अछाम आउनेक्रम जारी रहेको छ । रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउद अछाममा पर्यटक भित्र्याउन र यहाँको प्राकृतिक सुन्दरताका बारेमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न यस किसिमको ग्यादरिङले सहयोग पुग्ने बताउनुहुन्छ ।
“यो कार्यक्रमलाई पालिकाले विभिन्न सहयोग गर्दै आएको छ,” उहाँले भन्नुभयो, “पर्यटकको शान्ति सुरक्षाका लागि प्रहरी नायब निरीक्षक अशोक खड्काको नेतृत्वमा १० जनाको टोली रामारोशनमा नै खटिएको छ ।”
१२ बन्ड १८ खण्डले परिचित रामारोशनलाई हरेक विदेशीले सुन्दर स्थानका रूपमा चर्चा गर्ने गरेका छन् । समुद्री सतहबाट दुई हजारदेखि चार हजार मिटरसम्मको उचाइमा छ । घनघोर हरियाली जङ्गल, सम्म परेका हरिया पाटन र गुफा साँच्चिकै रोचक र हेर्न लायक छन् ।
त्यस्तै एक घण्टा पहाड चढ्नेबित्तिकै देखिने डाँफे चरीको ताँती, घोरल, झारल, थार, बाघ, भालु, बँदेल, रतुवा, कालिज जस्ता जनावर र चराचुरुङ्गीको आकर्षणको केन्द्र रामारोशनको अर्को विशेषता हो । जति हेरे पनि हेरौँ जस्तै लाग्ने मनोरम रोशन मैदान र किनिमिन्नीको विशाल मैदान, फलफूलहरू दाख तथा ताराचुक मुख्य आकर्षण हुन् ।
देउला, धुपी, लौठदेखि हरियो वनजङ्गल पनि उत्तिकै आकर्षक छन् । कैलाश खोलाको उद्गमस्थान रामारोशनमा बागफाल, चिन्डेनी र गोरेकोटको डाँडाबाट उम्रिएको कैलाश खोला रामारोशनका खोला खोल्सा हुँदै दुई भागमा विभाजन भएर बग्ने गरेको पाइन्छ । मैदानको ४० प्रतिशत भूगोल दलदलले भरिएको छ ।
मानव जातिलाई हिँडडुल गर्न समस्या हुन्छ । २० प्रतिशत भूगोल जङ्गलले भरिएको छ । चाखाडाँडा सबैभन्दा उच्च ठाउँमा अवस्थित छ । रामारोशनको चुचुरोबाट तराईका चिसापानी, नेपालगन्ज, महेन्द्रनगरमा बलेको बत्ती देखिने गरेको स्थानीयवासी बताउँछन् ।