धनगढी समाचारदाता
धनगढी, असोज १२ गते । कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्यले गति लिएको छ । चालु आर्थिक वर्षभित्रै बाँकी कार्य सक्ने गरी स्तरोन्नति कार्यलाई गति दिइएको हो । गएको आवमा राजमार्ग स्तरोन्नतिको कार्य सुस्तगतिमा भएपछि स्थानीयले विरोध जनाएका थिए । अब मेसिनले गर्ने काम मात्रै बाँकी रहेकाले निर्माण कम्पनीले कामलाई गति दिएको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले बताउनुभयो । “मान्छेबाट हुने काम सकिएको छ,” उहाँले भन्नुभयो, “अब मेसिनले गर्ने काम मात्रै बाँकी छ ।”
चालु आवभित्रै स्तरोन्नतिको काम सकिने अपेक्षा गरिएको छ । राजमार्ग स्तरोन्नतिको अवधि भने आउँदो पुससम्म मात्रै रहेको छ तर पुसमा काम सम्पन्न हुने सम्भावना कम देखिएको छ ।
आवश्यक बजेट समयमै उपलब्ध भएमा चालु आर्थिक मसान्तभित्र काम पूरा हुन सक्ने जनाइएको छ । यो वर्ष कामले गति लिएको बेला बजेट कम रहेको इन्जिनियर सुनारले जानकारी दिनुभयो ।
हुलाकी राजमार्ग स्तरोन्नतिका लागि सङ्घीय सरकारले ३८/३९ करोड रुपियाँ मात्रै बजेट विनियोजन गरेको छ । गत आव ७५ करोड रुपियाँ रहेको थियो । “यस वर्ष हुलाकी स्तरोन्नतिको काम पूरा हुन सक्दैन भने कम बजेटको कारणले मात्रै त्यस्तो हुने छ,” सुनारले थप्नुभयो ।
आव २०७७/७८ बाट कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ । जस अन्तर्गत धनगढीको गुरही चौक (क्याम्पस रोड) देखि मनेहरासम्म चार किलोमिटर खण्डलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य सकिएको छ । आगामी पुससम्म निर्माण म्याद रहेको यो खण्डमा वर्षाअगावै स्तरोन्नतिको काम सकिएको थियो ।
यसै गरी मनोहरादेखि पूर्वमा सत्तीसम्म दुई लेनको र टीकापुरदेखि लम्कीसम्म चार लेनको सडक स्तरोन्नतिको कार्य जारी छ । विभिन्न सात प्याकेजमा विभाजन गरेर स्तरोन्नतिको कार्य भइरहेको आयोजनाले जनाएको छ । आव २०६४/६५ देखि हुलाकी राजमार्ग निर्माणको कार्य सुरु गरिएको थियो । सुरुमा भारत सरकारको सहयोगमा भारतीय निर्माण कम्पनीले हुलाकी राजमार्ग बनाउने काम गरेको हो ।
तर सो कम्पनीले राजमार्ग निर्माण अधुरो नै छोडेर नेपाल सरकारलाई हस्तान्तरण गरेर गएपछि बाँकी रहेको काम नेपाल सरकारको लगानीमा भइरहेको छ । धनगढीको त्रिनगर भन्सारनजिक करिब एक सय मिटर क्षेत्रमा सडक बन्न बाँकी छ ।
सो क्षेत्रमा निर्माण कम्पनीले गत वर्ष नै कालोपत्रेको काम गरेर सकिसकेको छ । यसै गरी निर्माण अवधि सकिएको छ । अब अर्को ठेक्का गरेर मात्रै बाँकी रहेको एक सय मिटरमा कालोपत्रेको काम हुने बताइएको छ ।