• १२ मंसिर २०८१, बुधबार

असल नेतृत्वबाटै मुलुकको उन्नति

blog

राजनीतिक स्थिरता, शान्ति, विकास र सुशासनलाई आधार बनाउँदै देश र जनताको हितमा समर्पित भई नयाँनयाँ सुधारका नीति अगाडि सारेर परिवर्तनको लहर ल्याउने नेतृत्व नै राजनेता हुन् । वास्तवमा राजनेताले अविस्मरणीय आयाम थप्दै आमजनतालाई विश्वासमा लिएर राष्ट्रलाई शक्तिशाली बनाउने क्षमता मात्र नराखी उनीहरू विश्व समुदायलाई नै प्रत्यक्ष/अप्रत्यक्ष रूपमा ठुलो योगदान पु¥याउन सफल हुन्छन् । राजनेता बन्न सानो त्याग र तपस्याले पुग्दैन, त्यसका लागि विशिष्ट खाले गुणहरूको विकास गर्दै परिवारवाद, नातावाद, कृपावादभन्दा माथि उठेर आमजनताको साझा नेतृत्वका रूपमा स्थापित हुन सक्नु पर्छ ।

राजनेताले राज्यका हरेक क्षेत्रमा जनताको सेवा र सुविधालाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा सधैँ सोचविचार गरिरहनु पर्छ । सपना बाँडेर मात्र राजनेता भइँदैन र सपनालाई पूरा गर्न दत्तचित्त भई लाग्नु जरुरी हुन्छ । आफ्नो विचारको महान् शक्तिलाई देश र जनताको हितमा रूपान्तरण गरेर परिवर्तनको अभियानमा लागिरहनु पर्छ । मुलुकको हितमा आएका विचारलाई तत्कालै कार्ययोजना बनाएर हुर्काउनु पर्छ । मुलुकी विकासका उच्चतम सपना देख्न सक्नु पर्छ र सपनालाई क्रमबद्ध रूपमा विचारमा बदल्दै अगाडि बढ्नु पर्छ । आफ्नो विचार र रायलाई मस्तिष्कमा खेलाएर परिष्कृत पार्नु पर्छ र मनमा सजाएर मुलुकको हितमा प्रयोग गर्नु पर्छ । वास्तवमा मस्तिष्क विचार उत्पादन गर्ने कारखाना हो भन्ने कुरालाई ध्यानमा राखेर मुलुक परिवर्तन गर्न नयाँनयाँ विचार उत्पादन गर्ने अभियानमा निरन्तर रूपमा लागिरहनु पर्छ ।

राजनेताले राष्ट्रिय स्वाधीनता कमजोर हुन नदिन राष्ट्रवादी, देशभक्त शक्तिलाई एकै ठाउँमा उभ्याउन सक्नु पर्छ । मुलुकको अभिभावकत्वको भूमिका निर्वाह गर्दै समयसापेक्ष जनतालाई आकर्षित गर्ने सशक्त कार्यनीति अगाडि ल्याई नेतृत्व प्रदान गर्नु पर्छ । समाज परिवर्तनका लागि विश्वविख्यात चिन्तकहरूको गहिरो अध्ययन, अनुसन्धान गरी प्राप्त नतिजालाई नीतिगत रूपमा लागु गरी मुलुकलाई अभूतपूर्व प्रगतितर्पm अगाडि बढाउनु पर्छ । देश र जनताको हितमा नीति तथा कार्यक्रम अगाडि सार्दै लागु गर्ने असल राजनीतिज्ञ, कुशल प्रशासक, अनुशासित तथा न्यायका लागि कठोर भएर मुलुकलाई कायपलट गर्ने क्षमता नेतृत्वसँग हुनु पर्छ ।

राजनेताले दृढताका साथ राजनीतिक शक्ति, कर्मचारीतन्त्र र दलालहरूबिच देश र जनतालाई दोहन गरेर खाने त्रिकोणात्मक सञ्जाल तोड्नु पर्छ । साथै देश र जनताको हितमा समर्पित भएर काम गर्ने शक्तिहरूलाई एकताबद्ध गराएर मुलुकको कायपलट गर्ने रणनीति लिनु पर्छ । आर्थिक सुधारको नीति लिँदै चामत्कारिक आर्थिक रूपान्तरण गरेर गरिबी, पछौटेपन, विभेद हटाई समुन्नत एवं समृद्ध राष्ट्र निर्माणको अभियानमा सबैलाई सक्रिय बनाउनु पर्छ । समृद्धिका लागि महान् व्यक्तित्वहरूको योगदान, समर्पण र प्रेरणाबाट आपूmलाई रूपान्तरित गर्दै आर्थिक क्रान्तिको अभियान चलाउनु पर्छ ।

प्रशंसा र आलोचनालाई सहज रूपमा बुझेर त्याग, साहस, लचकता, समन्वयात्मक क्षमता, वैज्ञानिक दृष्टिकोण राखेर नयाँ र गतिशील निर्णय लिने क्षमताको विकास गर्नु पर्छ । त्याग र समर्पणले नै राजनेताको पहिचान गराउने हुँदा राष्ट्रका लागि त्याग र समर्पणको भावनाले काम गर्नु पर्छ । समर्पित र इमानदार व्यक्तिको मूल्याङ्कनमा प्रतिशोधको भावना राख्नु हुँदैन । बुद्धिमत्तापूर्ण तथा प्रशंसायोग्य काम गरेर उदाहरणीय नेताका रूपमा पहिचान बनाउँदै सही निर्णय लिन सक्ने र निर्णयमा अन्त्यसम्म अडिन सक्ने क्षमता राख्न सक्नु पर्छ । 

राष्ट्रिय स्वार्थलाई प्रधान बनाई त्यसको संरक्षण र संवर्र्धन गर्न व्यक्तिगत तथा पार्टीगत स्वार्थभन्दा माथि उठेर सत्ताबाट प्राप्त शक्तिलाई मुलुकको हितमा अधिकतम फाइदा हुने गरी काम गर्नु पर्छ । राजनेताले मुलुकको आमूल परिवर्तनका लागि अब्बल दर्जाका इमानदार, परिवर्तकारी सोच बोकेका स्वतन्त्र तथा अन्य पार्टीका व्यक्तिलाई पनि क्षमता र आवश्यकताको आधारमा विभिन्न पदमा जिम्मेवारी दिन सक्नु पर्छ । देश र जनताको हित चिताएर कामको परिणाम निकाल्न सक्ने व्यक्तित्वलाई अगाडि सार्दा नै मुलुकको साख बढ्नुका साथै मुलुकले सही निकास लिन सक्दछ । सही पदमा सही व्यक्तिको मनोनयन गर्न सक्ने क्षमता राख्नु पर्छ ता कि ती व्यक्तिको क्षमताले मुलुकलाई अघि बढ्न मद्दत पुगोस् । नराम्रा भए पनि हाम्रा मान्छे छनोट गर्ने प्रवृत्तिलाई निमिट्यान्न पार्न सक्नु पर्छ । 

राजनेताले मेलमिलापको राजनीतिलाई अघि बढाउन सक्नु पर्छ । समन्वयकारी सिद्धान्तको विकास गर्ने, समर्थक र अनुयायीको गल्ती र कमजोरीको पूर्ण जिम्मेवारी लिने, वितरणमा पारदर्शिता र पारङ्गत हुने, व्यावहारिक योजना बनाएर काम गर्ने, स्पष्ट निर्णय दिने, उच्च आचरणमा बस्ने गुणहरूको विकास गर्नु सक्नु पर्छ । साथै देशको वस्तुस्थिति र परिस्थितिलाई हेरेर असल शासन सत्ताको अवधारणा विकास गरेर मुलुकको नेतृत्व गर्नु पर्छ । त्यसका लागि नेतृत्वले बुद्धिमत्तापूर्ण र साहसिक ढङ्गले मुलुकको नेतृत्व गर्दै नेता, कार्यकर्ता तथा आमजनतालाई राष्ट्र निर्माणको अभियानमा एकताबद्ध गराएर मेहनतका साथ काम गर्ने अनुकूल वातावरण निर्माण गर्नु पर्छ । 

राजनेताले व्यक्तिगत स्वार्थमा केन्द्रित राजनीतिको अन्त्य गर्दै अघिल्ला तथा पछिल्ला पुस्ताका व्यक्तित्वहरूसँग मिलेर काम गर्ने क्षमताको विकास गर्नु पर्छ । मुलुकलाई सही मार्गमा डो¥याएर सफलताको शिखरमा पु¥याई सबैले तारिफ गर्ने र युगौँसम्म इतिहास रचेर रहिरहने किसिमको थिति बसाल्नु पर्छ । नेतृत्वलाई राजनेता बन्ने अवसर ज्यादै कम आउँछ, त्यस अवसरको सदुपयोग गरी राजनेता बन्न सक्नु पर्छ । उक्त अवसर चुक्यो भने पार्टीको नेताभन्दा माथि जान सकिँदैन भन्ने कुरालाई मनन गरेर काम गर्न सक्नु पर्छ । 

विश्वका सफल नेता र नेतृत्वको गहिरो अध्ययन गरेर उनीहरूले अवलम्बन गरेका कार्यशैली, विचार र योगदानको उच्च मूल्याङ्कन गरी आफ्नो परिवेशमा अनुसरण गर्दै अगाडि बढ्ने जीवनशैली बनाउनु पर्छ । देश र जनताकोे आवश्यकता र वस्तुस्थितिको अध्ययन गरी व्यावहारिक रूपमा कार्यान्वयन गर्ने मानसिकताको विकास गर्दै राजनेता बन्ने कोसिस गर्नु पर्छ । साथै सुझबुझपूर्ण निर्णय लिँदै कानुनी राज्यको अवधारणालाई आत्मसात् गर्ने मौलिक गुणहरूको विकास गर्न सक्नु पर्छ । 

असन्तुलित आर्थिक, सामाजिक, सांस्कृतिक तथा पूर्वाधार विकासलाई सन्तुलित विकासमा रूपान्तरण गर्दै नेतृत्व प्रदान गर्न सक्नु पर्छ । आर्थिक तथा सामाजिक सुधारका कार्यलाई निरन्तरता दिँदै समाज सुधारकका रूपमा पहिचान बनाउन सक्नु पर्छ । सामाजिक तथा आर्थिक रूपान्तरणका सहयोगी मित्रको भूमिकालाई सधैँ सम्मान गर्ने बानी बसाल्न सक्नु पर्छ । राष्ट्र निर्माणको लागि आवश्यक जनशक्तिको सन्तुलनमा ध्यान दिँदै कुशल नेतृत्व प्रदान गरेर देशको विकास, शान्ति र स्थायित्व प्रदान गर्ने नायकका रूपमा अगाडि बढ्नु पर्छ । सङ्कटको समयमा धैर्यपूर्ण ऐक्यबद्धताको आधारमा राष्ट्रलाई निकास दिने क्षमता विकास गर्नु पर्छ ।

राजनीतिक अस्थिरतासँगै विकासको गति सुस्ताउने तथा राजनीतिक शक्ति पनि कमजोर हुने हुँदा राजनीतिक स्थिरतालाई राजनेताले विशेष ध्यान दिन सक्नु पर्छ । भनाइ र गराइमा एकरूपता कायम गर्दै राजनीतिलाई विशुद्ध सेवा र योगदानका रूपमा हेर्नु पर्छ । साथै मुलुकको चमत्कारपूर्ण परिवर्तन गर्न राजनेताले सामूहिक योगदानको अभियानलाई अगाडि बढाउनु पर्छ । सेवा र सुविधाबाट पछि परेका विपन्न वर्गलाई माथि उठाउने रणनीति लिँदै राजनीतिलाई व्यापार र उद्योगका रूपमा लिने शक्तिलाई परास्त गर्नु पर्छ । त्यस्तो प्रवृत्तिका मानिसबाट अलग रहन सक्नु पर्छ । 

राजनेताले पार्टीलाई नेता, कार्यकर्ता तथा आमजनताको निष्ठावान् पार्टीका रूपमा हुर्काउनु सक्नु पर्छ । सैद्धान्तिक र वैचारिक अस्पष्टता र अन्योल पार्टीमा आउन दिनु हुँदैन । पार्टीभित्रको आन्तरिक एकता बलियो बनाउँदै आन्तरिक द्वन्द्वलाई सही ढङ्गले व्यवस्थापन गर्न सक्नु पर्छ । पार्टीभित्र भ्रष्टाचार मौलाउन दिनु हुँदैन, त्यसका लागि सुशासनको नीति अगाडि सार्दै पार्टी शुद्धीकरणका लागि सधैँ सचेत बनेर निगरानीका साथ संस्थागत सुशासन कायम गर्ने रणनीति लिनु पर्छ । साथै जनतामाझ दृढविश्वासका साथ राम्रो विचार र सम्भावना पस्कँदै ती विचार र सम्भावनालाई पूरा गर्न दृढ अठोट र निरन्तर धैर्यताका साथ सहकार्य गरेर अगाडि बढिरहनु पर्छ ।

राजनेताले मुलुकको राजनीति तथा नेतृत्वप्रति वितृष्णा उत्पन्न गराउने नकारात्मक गतिविधिबाट बचाएर सकारात्मक सोचको विकास गराउनु पर्छ । त्यसका लागि नेतृत्वले राज्यमा भइरहेका अनियमितता, भ्रष्टचारका गतिविधि र पद्धतिविरुद्ध जिम्मेवार बनेर एक असल नेताको हैसियतमा जिम्मेवारी वहन गर्न सक्नु पर्छ । असल संस्कारका हरेक काम र सिकाइलाई जीवनभर अनुसरण गर्दै राम्रा नतिजा दिने विषयवस्तुमा केन्द्रित भएर मुलुक र मुलुकवासीको हित र उत्थानको अभियान छेड्ने आँट गर्नु पर्छ । तब मात्र राजनेताले हाँकेको मुलुक समृद्धिको गन्तव्यमा पुग्न सक्छ । 

  

Author

डा. ज्ञानेन्द्रबहादुर कार्की