गोविन्द शर्मा
बाँके, असोज ११ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको निन्दा गर्नुभएको छ ।
नेपालगन्जमा बिहीबार पार्टीसम्बद्ध स्वास्थ्य विभागको टोलीसँग छलफलमा उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीले निर्भीकतापूर्वक काम गर्न पाउने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘चिकित्सक, स्वास्थ्यकर्मी मात्र नभएर आमनागरिकले समेत सुरक्षाको पूर्ण प्रत्याभूति गरेपछि मात्रै देश विकासले गति लिन्छ ।’ अध्यक्ष ओलीलाई चिकित्सकमाथि भइरहेको आक्रमण बन्द गरी चिकित्सकले उठाएका मागहरू पूरा गराउन संसदमा समेत कुरा उठाइदिन माग गरेको एमाले बाँके स्वास्थ्य विभाग प्रमुख कुश्माखर बस्यालले बताउनुभयो ।
उहाँका अनुसार अध्यक्ष ओलीले चिकित्सकहरूको जारी आन्दोलनप्रति समर्थन जनाउनुभयो । यसैबीच नेकपा (एमाले) का अध्यक्ष ओलीले पार्टी कार्यकर्तालाई निर्देशन दिँदै २०८४ सालको निर्वाचनमा तीनवटै तहमा बहुमत प्राप्त गर्ने गरी कार्यक्षेत्रमा खट्न भन्नुभयो ।
अध्यक्ष ओलीले मिसन ८४ लाई सफल बनाउन गाउँ टोलदेखि नै पार्टीलाई चलायमान बनाउन आग्रह गर्नुभयो । सो अवसरमा अध्यक्ष ओलीलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रदेशमा मतदानका आधारमा नेतृत्व चयन भइरहेको विषयमा जिज्ञासा राखेका थिए । अध्यक्ष ओलीले प्रदेश अधिवेशनपछि पार्टीका काममा थप गति लिने विश्वास व्यक्त गर्नुभयो ।