बैतडी समाचारदाता
बैतडी, असोज ११ गते । उज्यालोका लागि जीवनभर झरो (सल्लाको खोटो मिसिएको दाउरा) बाल्दै आउनुभएका ८७ वर्षीय सौकार बाजे (प्रेमसिंह ऐरी) को बिजुली बाल्ने सपना पूरा भएको छ । विद्युत् वितरण केन्द्र बैतडीले सिगास गाउँपालिका–१, अङ्डेगाडा र भौनी गाउँमा बिजुली पुर्याएपछि सौकार बाजे (प्रेमसिंह ऐरी) को बिजुली बाल्ने धोको पूरा भएको हो ।
८३ वर्षीय धर्मपत्नीसँगै घरको आँगनमा हुक्का तान्दै बसेका सौकार बाजेले अब झरो बाल्ने दिन गएको भन्दै खुसी व्यक्त गर्नुभयो । सल्लाको खोटो मिसिएको दाउरा बालेर छोराछोरी हुर्काएका सौकार बाजेले बिजुली बलेपछि गाउँ नै स्वर्ग भएको अनुभूति सुनाउनुभयो ।
सौकार बाजेले झरो बालेर पढाएका उहाँका जेठो छोरा गाउँको प्रधानाध्यापक हुनुहुन्छ भने उच्च शिक्षा अध्ययनका लागि नातिलाई जापान पठाउनुभएको छ । टनकपुरबाट नुन बोकेर, सल्लाको झरो बाल्दै पढाएका छोरा धनबहादुर ऐरी गाउँको विद्यालयमा प्रधानाध्यापक हुनुहुन्छ ।
शिक्षक धनबहादुर बा–बाजे, छोरा र नाति पुस्ता हुर्किएको गाउँमा बल्ल बिजुली बाल्न पाएको बताउनुहुन्छ । विद्युत् वितरण केन्द्रको पहलमा सिगास–१ का दुई टोलमा बिजुली बलेको छ । गाउँमा पहिलो पटक बिजुली बत्ती पुगेपछि दीपावली मनाइएको स्थानीय प्रमानन्द भट्टले बताउनुभयो ।
पालिकाको बिजुली अलपत्र
सिगास–१ का अङ्डेगाडा र भौनी गाउँमा बिजुली बले पनि बेसरा, इराना, माडौँ, बल्लेकाना, दाब, खरकेउडालगायतका गाउँ टोल भने अझै अँध्यारोमा छन् । यी गाउँमा स्थानीय तहले छ वर्षअघि गाडेका बिजुलीका पोल र तार अलपत्र अवस्थामा छन् ।
सिगास गाउँपालिकाले बिजुलीका नाममा ११ करोड रुपियाँ खर्च गरी पुर्याइएको पोल र तार गुणस्तरीय नहुँदा हावाले पोल भाँचिएका छन् भने तार चुँडिएका छन् । गाउँपालिकाले विस्तार गरेको विद्युत् योजनाको स्वामित्व हस्तान्तरण भएमा बिजुली बाल्न सकिने विद्युत् वितरण केन्द्र प्रमुख पवनकुमार भट्टले बताउनुभयो ।
गाउँपालिकाको पहलमा उपभोक्ता समितिमार्फत विस्तार गरिएको विद्युत् योजनामा मुद्दा परेका कारण बिजुली बाल्न नसकिएको सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । बिजुलीका पोल र तार वर्षौंदेखि अलपत्र छन् ।