• ५ जेठ २०८१, शनिबार

मरेका र प्रतिबन्धित माछा बरामद

blog

बरामद गरिएको माछा । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, असोज १० गते । झापाको दमक नगरपालिकाले भारतबाट ल्याएका मरेका माछा र प्रतिबन्धित माहुर जातका माछा बिक्री वितरणमा कडाइ गरेको छ । यसैक्रममा इलाका प्रहरी कार्यालय दमक र नगर प्रहरीको टोलीले मंगलबार करिब दुई टन माछा बरामद गरेर नष्ट गरेको छ ।

दमक नगरपालिका उपप्रमुख एवं बजार अनुगमन समिति संयोजक रेगिना भट्टराईका अनुसार होटल तथा माछा पसलमा भारतबाट आउने मरेका माछा फर्मालिन प्रयोग गरेर राखिने र सोही बिक्री वितरण हुनेगरेको सूचना पाएपछि यसमा कडाइ गरिएको हो । अनुगमन समितिको टोलीले राति साढे १० बजे भारतीय मरेका माछा र प्रतिबन्धित माहुर जातिको माछा बरामद गरेको पनि उहाँले जानकारी दिनुभयो ।

माछा आयात गर्दा क्वारेनटाइन तथा जाँच पासको प्रमाणपत्र अनिवार्य चाहिनेमा त्यो बेगर नै चोर बाटो गरेर सस्तोमा भारतबाट मरेको माछा ल्याएर दमकसहित आसपासका क्षेत्रमा बिक्री हुँदैआएको छ । झापाका स्थानीय तहहरूले भारतीय माछा बिक्री वितरणमा प्रतिबन्ध गर्ने निर्णय पनि गरेका थिए ।

भट्टराईका अनुसार खान अयोग्य माछाले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले आफूहरूले यसमा विशेष ध्यान दिएको पनि जनाउनुभयो । स्थानीयस्तरमा नै माछामा आत्मनिर्भरताको अवस्था रहँदारहँदै पनि मरेका तथा सडेका माछा ल्याएर बिक्री वितरण हुनु दुर्भाग्य हो, भट्टराईको भनाइ छ ।

नगरपालिकाले नियमित रूपमा बजार अनुगमन सुरु गरेर माछासहित अखाद्य सामग्रीहरू जफत गरेर नष्ट गर्न थालेपछि यसरी बजार अनुगमन नगर्न दबाब आउन थालेको पनि बताइएको छ । हामी कसैको दबाब वा प्रभावमा परेर बजार अनुगमन रोक्दैनौ, उहाँले भन्नुभयो ।