अविनाश चौधरी
धनगढी, असोज १० गते । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेश सरकारको आग्रहमा निर्वाचन स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । सचिवालयले गत आइतबार मात्रै निर्वाचन कार्यतालिका प्रकाशित गरिएको थियो ।
तालिकाअनुसार शुक्रबार (असोज १२ गते) समितिका सभापतिहरूको निर्वाचन तय भएको थियो । पूर्व निर्धारित मितिमा अब निर्वाचन नहुने बोगटीले बताउनुभयो ।
प्रदेश सभा सचिवालयले चारवटा विषयगत समितिका सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो । समितिहरू लामो समयदेखि सभापतिविहीन छ । समितिमा सभापति नै नरहेका कारणले सार्वजनिक लेखा समितिबाहेक अन्य समितिहरूको बैठक पनि खासै बस्ने गरेको छैन ।