• ११ मंसिर २०८१, मङ्गलबार

प्रधानमन्त्री प्रचण्ड र छिङछोङ महानगरका सचिवबीच भेटवार्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पोलिटब्युरोका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी चोङ्किङ म्युनिसिप्यालिटी कमिटी (टिबिसी)का सचिव युआन जियाजुनसँग छोङछिङमा भेटवार्ता गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, असोज ९ गते । चीनको औपचारिक भ्रमणको क्रममा दक्षिण पश्चिम सहर छोङछिङमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवम् सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन जियाजुनले छोङछिङ सहरमा भेटवार्ता गर्नुभएको छ ।

छोङछिङको स्टेट गेष्ट होटलमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले जियाजुन र आफूबीच पहिला पनि भर्चुअल्ली कुराकानी भएको र अहिले प्रत्यक्ष कुराकानी हुन पाउँदा खुसी लागेको बताउँदै छोङछिङ सहरले विगतमा दिएको राजनीतिक योगदान र हिजोआज विकास निर्माणमा गरेको प्रगतिबाट आफू प्रभावित भएको बताउनुभयो ।


यस सहरले सामाजिक तथा आर्थिक प्रगतिका लागि स्पष्ट विचारका साथ लिइएका रणनीतिहरूको उहाँले प्रशंसा गर्नुभयो ।

भेटवार्तामा सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य जियाजुनले प्रधानमन्त्री प्रचण्डसँग विगतमा भएका गहिरो कुराकानीबाट उच्चस्तरको सम्बन्ध स्थापित भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्ड इटालीको भ्रमणमा रहनुभएका बेला नेकपा (माओवादी केन्द्र)को निमन्त्रणामा आफूले नेपालको भ्रमण गरेको उल्लेख गर्नुहुँदै सो भ्रमणका बेला पनि द्विपक्षीय हितका बारेमा छलफल भएको बताउनुभयो । उहाँले आपसी हित प्रवर्द्धनका लागि आफू सदैव तयार रहेको उल्लेख गर्नुभयो ।

भेटवार्तामा प्रधानमन्त्रीसँगै भ्रमण दलमा रहनुभएका परराष्ट्रमन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य लगायत भ्रमण दलका सदस्यहरू सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री प्रचण्ड आजै बिहान बेइजिङबाट छोङछिङ आइपुग्नु भएको हो ।