काठमाडौं, असोज ९ गते । नेपाली कांग्रेसका केन्द्रीय युवा सदस्य नैनसिंह महरले जबाफदेहिताको माग गर्दै आठ दिनदेखि लगातार उभिरहनुभएको सामाजिक अभियन्ता इः को अभियानमा ऐक्यबद्धता जनाउनुभएको छ ।
१९९ घण्टा लगातार राष्ट्रिय सभागृह बाहिर निरन्तर उभिएर सहरका गरिब र सडक व्यवसायीहरूको समस्या समाधानका लागि साथ दिन युवा नेता महर राष्ट्रिय सभागृह पुग्नुभएको हो ।
अभियन्ता इःसँग भेट्दै नेता महरले फुटपाथमा रोजीरोटीका लागि व्यापार गरिरहेका मानिसहरूको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेको मुख्य सवाल रहेकाले यसमा स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।
उहाँले आफू आबद्ध पार्टी नेपाली कांग्रेसले पनि गम्भीरता पूर्वक फुटपाथ व्यवसायीको व्यवस्थापनका लागि पहलकदमि लिने बताउनुभयो ।
इः लाई भेटेर उहाँको माग सम्बोधन गराउन दबाब सिर्जना गर्न अहिले विभिन्न दलका नेताकार्यकर्तादेखि अभियानकर्मीहरू राष्ट्रिय सभा गृह पुग्न क्रम जारी छ ।