छिन्चु समाचारदाता
सुर्खेत, असोज ९ गते । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कार आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना १८ वर्षभन्दा कम उमेरका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख योगेन्द्रसिंह थापाका अनुसार बिहीबार साँझ छिमेकीको घरमा नाचगान हेर्न गएका बेला बालिका बलात्कारमा पर्नुभएको हो । बलात्कार आरोपमा पक्राउ परेका चारै जना पञ्चपुरी नगरपालिकाका हुन् । पक्राउ परेका एक जना युवा १९ वर्षका छन् । ती चारै जनाले फरक फरक स्थानमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चारै जनाले योजनाबद्ध रूपमा बलात्कार गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका चार जनालाई मुद्दा दर्ता गरेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी प्रमुख एसपी थापाले जानकारी दिनुभयो ।
यसै गरी १३ वर्षीय बालिकालाई अपहरण गरी काँक्रेविहारको जङ्गलमा लगेर बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगरको एक निजी स्कुलमा अध्ययनरत १३ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–३, पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार भदौ ३० गते बिहान स्कुल जान लागेकी बालिकालाई कँडेलले अपहरण गरेर टेम्पोमा राखेर काँक्रेविहारको जङ्गलमा लगी बलात्कार गरेका थिए । काँक्रेविहार जङ्गलमा पु¥याएपछि बालिकालाई कुटपिट गर्दै बलात्कार गरिएको प्रहरीको भनाइ छ ।
कँडेल शुक्रबार बेलुका पक्राउ परेपछि एक वर्षअघिको अर्को बलात्कार घटनाको फाइल पनि खुलेको छ । प्रहरीका अनुसार २०७९ कात्तिक ९ गते पूर्वी सुर्खेतकी एक युवतीलाई विवाहको प्रलोभनमा पारी वीरेन्द्रनगर ल्याएर एक होटलमा बलात्कार गरेर फरार भएको प्रहरीले जनाएको छ । सुर्खेतमा मात्रै नभएर दैलेखमा पनि कँडेलले यस्तै प्रकृतिका घटना गराएको डिएसपी शाहीले बताउनुभयो ।