शेरबहादुर सार्की
बाजुरा, असोज ८ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ को माटेसाँगु गाउँमा ज्वरोको बिरामी बढ्दै गएका छन् । भदौको १५ गतेदेखि गाउँमा ज्वरोका बिरामी देखा पर्न थालेका हुन् । अहिले त्यो ज्वरोका बिरामीहरु गाउँमा धेरै बढ्न थालेको स्थानीयले बताएका छन् ।
बिरामी भएकाहरुलाई खोकी लाग्ने रिगटा लाग्ने, हात दुख्ने, टाउँको दुख्ने, ज्वरो आउने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, पुरै शरिर थाक्ने जस्ता लक्षण देखापर्ने गरेको स्थानीय मीनबहादुर हाहीले बताउनुभयो ।
उहाँले पहिला घरको एक दुई घरपरिवारमा मात्र ज्वरोका बिरामी थिए भने अहिले माटेसाँगुको झण्डै १६० घरपरिवारमा ज्वरोको बिरामी रहेको बताउनुभयो । १६० घरपरिवारको प्रत्येक घरमा ज्वरोका बिरामी रहेको शाहीले बताउनुभयो ।
अहिले खप्तड छेडेदह गाउँपालिकाका–२ को माटेसाँगु गाउँमा भएका बिरामीको के ज्वरो हो भन्ने चेकचाँज गर्नका लागि गाउँपालिकाबाट ल्याबसहितको टोली प्रभावित क्षेत्रमा पुगेको जयवाग्यश्वरी स्वास्थ्य चौकी इन्चार्ज निर्मला बमले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘गाउँमा ज्वरोको बिरामीहरु बढ्दै गएको भए पनि अहिले के का कारण ज्वरो आएको हो भन्ने कुरा ल्याबको रिपोर्टपछि मात्र थाहा हुनेछ ।’’
भदौको दोस्रो सातादेखि माटेसाँगुमा ज्वरोको बिरामीहरु रहेको भन्ने खबर भएपछि स्वास्थ्यकर्मी त्यहाँ पठाएको हो । उनीहरुको रिपोर्ट अनुसार त्यति बेला सामान्य ज्वरो रहेको जनाएको छ ।
असोजको पहिलो सातादेखि गाउँमा ज्वरोको बिरामी बढ्दै गएपछि अहिले भने पूरै गाउँका स्थानीय ज्वरोले प्रभावित भएका छन् ।
केही दिन यता ज्वरोको कारण गाउँमा दुई जनाको मृत्यु भएको यहाँका स्थानीयले बताएका छन् ।
मृत्यु हुनेमा उक्त सोही वडाकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही छन् । ज्वरोका कारण बुढाको चार दिन पहिले र शाहीको गत आइतबार मृत्यु भएको मीनबहादुर शाहीले बताउनुभयो ।
ज्वरोको बिरामी बढ्दै गएकाले अहिले दुई जना स्वास्थ्यकर्मी माटेसाँगु गाउँमा पठाइसकेको र थप जिल्ला स्वास्थ्य कार्यालयबाट औषधिसहितको व्यवस्था गरी स्वास्थ्यकर्मीको टोली पठाउन जिल्ला स्वास्थ्य बाजुरालाई पहल गर्दै आएको खप्तड छेडेदह गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर रावतले बताउनुभयो ।
उहाँले ज्वरोले जेष्ठ नागरिक, बालबालिका र दीर्घरोगी बढी प्रभावित भएका छन् । बर्खामा आएको पानीले त्यहाँ जाने बाटो बन्द अवरुद्ध भएकाले स्वास्थ्यकर्मीको टोली पुग्न केही समय लाग्ने उहाँको भनाइ छ ।