• १२ असार २०८१, बुधबार

चिलिमे–त्रिशूली प्रसारण लाइन पुसभित्र सकिने

blog

काठमाडौँ, असोज ८ गते । आगामी पुसभित्र रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने गरी चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण अगामी डिसेम्बरभित्र सक्ने गरी समयसीमा तय गरिएको छ । 

प्राधिकरण मातहतको चिलिमे जलविद्युत् कम्पनीले बनाउँदै गरेका १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको विद्युत् उत्पादन आगामी पुसदेखि हुने तय भएका अवस्थामा सो पूर्व नै प्रसारण लाइन तयार गर्न प्राधिकरणले तदारुकता देखाएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार निर्माणाधीन सबस्टेसन तथा प्रसारण लाइनको स्थलगत अनुगमन गरी आगामी पुसभित्र काम सक्ने समयसीमा तय गरेको हो । 

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना निर्माणाधीन छ । आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हब र त्रिशूली थ्रिबी हब सबस्टेसन निर्माणाधीन छन् । साथै चिलिमे–त्रिशूली थ्रिबी हब २८ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । 

आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबिच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तीव्रता दिन निर्देशन दिएको छ । कार्यकारी निर्देशक घिसिङले यस वर्षको हिउँदको विद्युत् माग व्यवस्थापनका लागि दुई आयोजनाबाट उत्पादित विद्युत् अपरिहार्य रहेको भन्दै संवेदनशील बन्न सबै सरोकारवालालाई आग्रह गर्नुभएको हो । 

हिउँदको विद्युत् व्यवस्थापनमा यी दुई आयोजनाले धेरै सहयोग गर्ने छन्,” उहाँले भन्नुभयो, “प्रसारण लाइन अभावमा विद्युत् जोड्न नसक्ने अवस्था आएमा राज्यलाई नै ठुलो घाटा हुन्छ, यसतर्फ सबै गम्भीर र संवेदनशील बनौँ ।”

धेरै अप्ठ्यारो ठाउँमा टावर निर्माण गर्नुपर्ने छ, टावरको जग हाल्ने, खडा गर्ने, तार तान्ने, सबस्टेसनका उपकरण जडान गर्नेलगायतका सबै काम समानान्तर रूपमा जनशक्ति थप गरी अघि बढ्न र आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार रहेको उहाँले आश्वस्तसमेत गर्नुभयो । 

अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भिरैभिर रहेको र सडक पनि नभएकाले ढुङ्गा गिट्टी, बालुवा, टावरका सामान, पानीलगायतका निर्माण सामग्री मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढीपहिरो, ठेकेदारको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ लगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको प्राधिकरणले जनाएको छ । 

आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजले पुसभित्र निर्माण सक्ने प्रतिबद्धता जनाएको छ । दुवै सबस्टेसन उपकरण राख्ने सिभिल संरचनाको निर्माण अन्तिम चरणमा रहेको र सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका मुख्य मुख्य उपकरण आयोजना स्थलमा ल्याइसकिएको जनाइएको छ । आयोजनाको समग्र निर्माण प्रगति ९० प्रतिशत छ । 

चिलिमे–त्रिशूली थ्रिबी हब प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्रिबी हबसम्म आठ किलोमिटर चार (मल्टी) सर्किट निर्माण गर्ने छ । कोरियन कम्पनीको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । 

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो । 

अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र जर्मन विकास बैङ्क, युरोपेली लगानी बैङ्कको सहुलियतपूर्ण ऋण रहेको छ ।