चन्द्र पन्दाक
ताप्लेजुङ, असोज ७ गते । नेकपा एमाले ताप्लेजुङले पार्टीको कोशी प्रदेश अधिवेशनका लागि पचास जना प्रतिनिधि छनोट गरेको छ । जिल्ला कमिटीले प्रदेश अधिवेशनमा उम्मेदवार बन्न र मतदान गर्न पाउने अधिकार रहनेगरी प्रतिनिधिको छनोट गरेको हो ।
जिल्ला कमिटीका उपसचिव एवम् प्रचार विभाग प्रमुख दीपेन्द्र पोमुका अनुसार जिल्लाको नौवटै स्थानीय तह र दलित कोटामा दुई जनासमेत ५० जना प्रदेश अधिवेशन प्रतिनिधि छनोट गरिएको हो । सबैभन्दा बढी फुङ्लिङ नगरपालिकाबाट नौ जना प्रतिनिधि छनोट गरिएको छ भने फक्ताङ्लुङ गाउँपालिकाबाट सबैभन्दा तीनजना प्रतिनिधि छनोट गरिएको पोमूले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिरिजङ्घा गाउँपालिकाबाट सात जना, सिदिङ्वा गाउँपालिकाबाट छ जना, आठराई त्रिवेणी, पाथीभरा याङ्वरक र मेरिङ्देन गाउँपालिकाबाट पाँच–पाँच जना अधिवेशन प्रतिनिधि छनोट हुनुभएको छ ।
यस्तै मिक्वाखोला गाउँपालिका र मैवाखोला गाउँपालिकाबाट चार–चार जना प्रतिनिधि छनोट हुनुभएको छ । दलित कोटाबाट कोपिला नेपाली र मनकुमार नेपाली प्रदेश अधिवेशन प्रतिनिधिका रूपमा छनोट हुनुभएको छ ।
अधिवेशन प्रतिनिधिमा छनोट हुनेमा अधिकांश जिल्ला कमिटीका पदाधिकारी र पालिका कमिटीका पदाधिकारीहरू रहनुभएको छ । कोशी प्रदेशको अधिवेशन यही असोज १२ र १३ गते विराटनगरमा हुने सो पार्टीले जनाएको छ ।