• १९ असार २०८१, बुधबार

शिक्षा विधेयक सच्याउनुपर्छ : कांग्रेस महामन्त्री थापा

blog

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । फाइल तस्बिर

काठमाडौं, असोज ७ गते । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताउनुभएको छ ।

महामन्त्री थापाले सो विधेयकलाई सच्याउन कांग्रेसले आफ्ना पार्टीका सांसद र नेतासँग सामूहिक छलफल गर्नेसमेत बताउनुभयो । उहाँले कांग्रेस संसदमा सबैभन्दा ठुलो पार्टी भएकाले नाताले उसले हरेक विधेयकलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । 

पार्टी निकट नेपाल मुस्लिम सङ्घले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले निर्वाचन कानुन सम्बन्धी विधेयक पनि केही दिन भित्रै संसदमा पेस हुने उल्लेख गर्दै त्यसलाई कांग्रेसले आवश्यकताको आधारमा संशोधन गरेर पारित गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘नेपाली कांग्रेस संसद्को ठुलो पार्टी हो । त्यो भएको हिसाबमा नेपाली कांग्रेस यो संसदमा केही काम गरिदियोस् भन्ने तपाईँका मागहरू छन्, जुन जायज छन् । शिक्षा विधेयक भर्खर संसदमा दर्ता भएको छ । कांग्रेसका सांसद, कांग्रेसका केन्द्रीय सदस्यहरू बसेर यो विधेयकलाई हामी कसरी परिष्कृत र समृद्ध बनाउन सक्छौँ भनेर छलफल गर्छौँ । मुस्लिम समुदायले केही महत्त्वपूर्ण विषयहरू उठाउनुभएको छ, जुन मदरसा शिक्षासँग सम्बन्धित छ । हामी संसद्को सबैभन्दा ठुलो पार्टी हो । हामीले सच्याउन चाहँदा यो सच्चिन्छ । यसलाई हामीले सच्याउनु पर्दछ । निर्वाचन कानुन केही दिनपछि संसदमा आउँछ । हामीले बनाउनु पर्नेछ । हामी बनाउँछौँ ।’

महामन्त्री थापाले मुलुकमा नियोजित रूपमा सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा पार्टीको सिङ्गो पङ्क्ति लाग्नुपर्ने बताउनुभयो ।