• ८ पुस २०८१, सोमबार

मलङ्गवामा कर्फ्यु जारी, उल्लङ्घन गर्नेहरू नियन्त्रणमा

blog

मलङ्गवा बजारमा परिचालन भएका सशस्त्र प्रहरी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असोज ७ गते । सर्लाही सदरमुकाम मलङ्गवामा बिहीबार राति १० बजेदेखि जारी कर्फ्यु आइतबारबाट थप कडाइका साथ लागू गरिएको छ । 

सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले कर्फ्यु उल्लङ्घन गरेर ढुङ्गामुढा र प्रदर्शनमा उत्रने व्यक्तिलाई पक्राउ गर्न सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कर्फ्यु पालना गराउन तथा आम नागरिकको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले मलङ्गवाका ठाउँ–ठाउँबाट कर्फ्यु उल्लङ्घन गर्नेलाई पक्राउ गरिरहेको छ । 

प्रदर्शन नरोकिएको र शान्ति भङ्ग हुनसक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु आदेशलाई निरन्तरता दिएको जनाएको छ । मलङ्गवामा जिल्लासहित मातहतका विभिन्न युनिट, प्रदेश तथा विभिन्न गणबाट समेत नेपाल प्रहरी र सशस्त्र दुवैको थप मद्दत टोली परिचालन गरिएको छ । 

आइतबारबाट नेपाली सेनाले समेत गस्ती थालेको जनाएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले सामाजिक सञ्जालमा आगजनी, तोडफोडजस्ता अफवाह फैलाइएकाले त्यसपछि नलाग्न अनुरोध गर्नुभएको छ । 

नागरिक समाज, सञ्चारकर्मी र अन्य अगुवा व्यक्तिले नै सामाजिक सञ्जालमा जथाभाबी लेख्दा बाहिर गलत हल्ला फैलिएको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले धार्मिक सद्भाव र शान्ति कायम गर्ने कार्यमा सकारात्मक सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको छ ।  

उहाँले स्थिति नियन्त्रणमै रहेको र कर्फ्यु हटाएर जनजीवन सामान्य बनाउन आइतबार पनि जिल्ला समन्वय समितिका प्रमुख, नगरप्रमुख, वडा अध्यक्ष लगायत सरोकारवालासँग छलफल गरिएको छ । चार दिनदेखिको कर्फ्युका कारण मलङ्गवासीको दैनिक कष्टकर बनेको स्थानीयको भनाइ छ । 

अत्यावश्यक काम परेका स्थानीय घरबाहिर निस्कन पाएका छैनन् भने मलङ्गवामा काम परेर जानुपर्नेहरु पनि समस्यामा परेका छन् । हाटबजार ठप्प हुँदा दैनिक उपभोग्य सामग्री किन्न समेत नपाएको स्थानीयको गुनासो छ ।  

मलङ्गवाबाट छुट्ने तथा मलङ्गवा पुग्ने कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । शुक्रबारदेखि सदरमुकामका सरकारी तथा अन्य कार्यालय पनि खुल्न सकेका छैनन् । मलङ्गवाकै घटनासँग जोडेर जिल्लाका अन्य प्रमुख व्यापारिक केन्द्रमा समेत बेलाबेलामा प्रदर्शन भइरहेका छन् ।