• ६ जेठ २०८१, आइतबार

जुम्ला विमानस्थल विस्तार गरिने

blog

जुम्ला विमानस्थल । तस्विर : नेत्र शाही

नेत्र शाही

जुम्ला, असोज ७ गते । जुम्ला विमानस्थल विस्तार गरिनेभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कर्पोरेट योजना तथा अनुगमन विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लालाई विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८७ रुपियाँ ६१ पैसा स्वीकृत गरी आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम पठाएको छ । 

प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले विमानस्थल विस्तारका लागि सो बजेट स्वीकृत गरेर सरकारले पत्र पठाएको जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थल विस्तारको काम गर्न कार्यालय, स्थानीय नागरिक र सरोकारवाला निकायको सहयोग आवश्यक रहेको छ । 

सांसद लामाले भन्नुभयो, “आफ्नो जिल्लाको विकासका लागि सबै नागरिकले चासो लिन आवश्यक छ । यसैगरी सक्रियता र चासो देखायो भने त्यो ठाउँको विकास उन्नति हुन कसैले रोक्न सक्दैन ।”

गत वर्ष एक करोड रकम आएको थियो, तर त्यो रकम पनि प्रयोगमा नआएर फ्रिज भएको उहाँले बताउनुभयो । उहाँले हामीले उठाएको पहिलो मुद्दा नै हाम्रो विमानस्थलको स्तरोन्नति रहेको बताउनुभयो । यो पटक जग्गा अधिकरणका लागि मन्त्रिपरिषदबाट स्वीकृत भयसँगै नीति तथा कार्यक्रममा ५० लाख छुट्याइएको जानकारी पाएपछि थप बजेटका लागि सम्बन्धित मन्त्रालयमा दबाब दिएको उहाँले बताउनुभयो ।

जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीका अनुसार सो कार्यक्रम स्वीकृत भइआएको उहाँले बताउनुभयो । विमानस्थलको जग्गा अधिग्रहण गरिसकेपछि विस्तार कार्यक्रम अन्तर्गत रन–वे, ट्याक्सी–वे र अप्रोनको काम गरिने छ । प्राधिकरणले जुम्लासहित ७ वटा विमानस्थलमा भेहिकलबाट पानी भर्ने व्यवस्थाका लागि एकमुष्ट ४० लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।

अहिले जुम्ला विमानस्थलमा साना ट्विनेटर जहाज बस्ने गर्दछन् । विमानस्थल विस्तार भएमा ठुला जहाज बसाल्ने वर्षौँदेखि जुम्ली जनताको माग छ । जुम्ला साबिक कर्णालीको मुकाम पनि हो । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले विमानस्थलमा आएको रकमअनुसार काम हुन आवश्यक भएको बताउनुभयो ।