• ६ जेठ २०८१, आइतबार

मैवाखोलालाई खोज तथा उद्धार सामग्री प्रदान

blog

मैवाखोला गाउँपालिकालाई प्राप्त भएको विपतमा प्रयोग हुने खोज तथा उद्धारका सामग्री । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई विपतमा प्रयोग हुने खोज तथा उद्धारका सामग्री प्राप्त भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खोज तथा उद्धारको कार्यमा प्रयोग हुने आवश्यक सामग्री मैवाखोला गाउँपालिकालाई प्रदान गरेको हो ।

मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार प्राधिकरणबाट कुल १८ लाख ६७ हजार ३०५ रुपियाँ बराबरको उद्धार सामग्री पालिकालाई प्राप्त भएको छ । मैवाखोलामा पहिरोको उच्च जोखिमसँगै ६५ परिवार विस्थापित हुनेगरी साथै बाढीपहिरोकै कारण धेरै बालीनाली तथा भौतिक संरचनाको क्षति बेहोरेको गाउँपालिकालाई प्राधिकरणले प्राथमिकतामा राखेर उद्धार सामग्री उपलब्ध गराएको अध्यक्ष वनेमको भनाइ छ । 

उहाँका अनुसार आगो निभाउने यन्त्र, पोर्टेबल इन्धन ट्याङ्की, सेफ्टी भेष्ट, ह्याम्मर लगायत विभिन्न २० किसिमका खोज तथा उद्धार सामग्री गाउँपालिकालाई प्राप्त भएको छ । उक्त उद्धार सामग्रीहरू राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नायव सुब्बा सञ्जयकुमार श्रेष्ठमार्फत आफूले बुझेको पनि अध्यक्ष वनेमले बताउनुभयो । 

उहाँकाअनुसार उद्धार सामग्रीहरू मैवाखोला गाउँपालिकाको स्थानीय आपत्कालीन सेवा सञ्चालन केन्द्रमा राखिने छ । यस वर्षको बर्खा मौसम अर्थात् गत असार महिनाको पहिलो साता भीषण वर्षासँगै आएको बाढीपहिरोले मैवाखोला गाउँपालिका –४ साँघुको ओदक बस्ती पहिरोको उच्च जोखिममा पुगेको थियो ।

ओदक बस्तीसहित पहिरोले विस्थापित बनाएको ६५ परिवारलाई पुनः स्थापनाका लागि गाउँपालिकाले अस्थायी आवास गृह (घर) निर्माण गरेको छ । सो घर सम्बन्धित पीडित परिवारलाई हस्तान्तरण गर्ने अन्तिम तयारी गरिरहेको पनि गाउँपालिकाले जनाएको छ ।