• २२ मंसिर २०८०, शुक्रबार

राजनीतिप्रति अहिले नकारात्मक प्रवृत्ति हाबी छ : सञ्चारमन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा सम्मानित पत्रकारसँग । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी भएको बताउनुभएको छ । आइतवार सिंहदरबारमा भएको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले सकारात्मक प्रवृत्ति किनारामा हुँदा नकारात्मकता हाबी भएको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा पत्रकारिता कसरी टिकाउने भन्ने चुनौती रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सूचना प्रविधिमा आएको विकासको सही सदुपयोग हुन नसक्दा आएका नकारात्मकताले झनै चुनौती थपेको बताउनुभयो । सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन जरुरी रहेको उहाँको भनाइ छ । उहाँले सञ्चार क्षेत्रसँग सम्वद्ध, नियम, कानुन, ऐनलाई सरकारले व्यवस्थित बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको हाम्रो अभिव्यक्ति स्वतन्त्रतासहितको सङ्घीय, लोकतान्त्रिक गणतन्त्रको व्यवस्था, हामीले जे प्राप्ति गरेका छौँ, त्यो प्राप्तिका पछि पनि चानचुने जोखिम छैन । पत्रकारिता क्षेत्रले पनि उत्तिकै जोखिम मोलेको छ, राजनीतिक क्षेत्रले पनि त्यत्तिकै जोखिम मोलेको छ । अहिले भावना सकारात्मक देखिएको छैन ।’ राजनीतिक व्यक्तिप्रति झन् धारणा सकारात्मक नभएको उहाँले बताउनुभयो ।


सकारात्मक प्रवृत्ति किनारामा रहेको चर्चा गर्नुहुँदै मन्त्री शर्माले भन्नुभयो, “सतहमा जे छ, त्यही कुरा हाबी हुँदा त्यसको अपजस सबैले भोग्नुपरेको छ । पत्रकारिता क्षेत्रमा पनि कैयन् कुराहरु छन्, मिडियाको चुनौती पनि कम छैन ।”

पछिल्लो समय सूचना प्रविधिमा आएको विकासको सदुपयोग गर्नुपर्ने बताउनुभयो । पत्रकारिता क्षेत्रलाई व्यवस्थिनत बनाउन पनि जरुरी रहेको उहाँले चर्चा गर्नुभयो । यस क्षेत्रसँग सम्बद्ध , नियम, कानुन, ऐन यी सबै कुरालाई व्यवस्थ्ति बनाउन जरुरी रहेको उहाँले बताउनुभयो । 

मन्त्री शर्माले जनताको अवस्था सही बनाउन नसके बोलेर मात्रै व्यवस्था ठिक छ भन्न नसकिने बताउनुभयो । हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार, २०८० बाट कान्तीपुर टेलिभिजनका पत्रकार महेश केसी र नेपाल टेलिभिजनका शिव सिलवालाई सम्मान गरिएको छ । 

नेपाल टिलिभिजनका अध्यक्ष समिरजङ्ग शाहले नेपाली पत्रकारितामा हुने जोखिमलाई अवसरका रूपमा लिएर काम गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले पेशागत जोखिम र प्रविधिगत जोखिम बढ्दै गएको र सोहीअनुसार नेपाल टेलिभिजनलाई पनि अघि बढाउन प्रयत्नमा रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सुरक्षित पत्रकारिता गर्नका लागि आवश्यक कानुन र संयन्त्र बन्न आवश्यक रहेको भनाइ राख्नुभयो । सम्मानित हुने रूकुम पूर्वका पत्रकार केसीले दुर्गममा पत्रकारिता गर्नका लागि सूचना प्रविधिको पहुँचमा समस्या भएको र त्यसका लागि वातावरण बनाउन आग्रह गर्दै पुरस्कारले काम गर्न थप प्रोत्साहन मिलेको बताउनुभयो ।

नेपाल टेलिभिजन कर्मचारी सङ्घका अध्यक्ष गोपाल दाहाल, नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष भोजबहादुर विश्वकर्माले पुरस्कृत व्यक्तित्वलाई बधाई दिनुभयो । कार्यक्रममा टेलिभिजन शाखाका पूर्वअध्यक्षहरू रामेश्वर शुक्ला, प्रदीप चापागाईं, शालिक सुवेदी र पुरूषोतम घिमिरेलाई पनि सम्मान गरिएको थियो । 

प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजङ्ग हमालले उक्त पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको र सो कोषमा हाल २० लाख रुपियाँ रहेको जानकारी दिँदै पुरस्कृतलाई बधाई दिनुभयो ।