काठमाडौं, असोज ७ गते । दशैँ तिहारका लागि लक्षित गरी अग्रिम टिकट खुलाउनेबारे अझै टुङ्गो लागेको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अग्रिम टिकट खुलाउन अघि अस्तव्यस्त सडकको समस्या समाधान नभएकाले टुङ्गो लगाउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो अब केही दिनमै बुकिङको काम अघि बढ्छ । असोज ५ गते बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकरावालाबीच छलफल भई सकेको छ ।
त्यस बैठकले चाडबाड लक्षित सबै समस्याको निकास निकाल्न यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा एक समिति गठन भएको उहाँले बताउनुभयो । सिटौलाले भन्नुभयो, “अस्ति कुराकानी भएको छ । सरोकारवाला निकायलाई बोलाएर प्रतिवेदन तयार गर्ने । देशभरिको बाटो अस्तव्यस्त छ”, बाढीपहिरो, प्राकृतिक प्रकोप आदिका कारण सडक अस्तव्यस्त बन्न पुगेको उहाँको भनाइ छ ।
उहाँले सो समितिको बैठक एक, दुई दिनमा बस्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुग्लिन, पोखरा, नारायणघाट, बुटवल । उता समाखुशीबाट नुवाकोटमा ठूलो चुनौती छ । अरनिको क्षेत्र, बिपी राजमार्ग, पूर्वतिर वर्षा आदि लगायतका कारण मुखैको बाटोमा समस्या छ । त्यो समस्यामा निकास निकाल्न समिति बनेको छ । बैठक भोलि, पर्सिबाट सुरु हुन्छ ।”
उहाँले अग्रिम टिकटसँगै यातायात व्यवसायीका समस्या, यात्रु, ट्राफिक पुलिस सबै क्षेत्रको समस्यामाथि समितिले टुङ्गो लगाउने जानकारी दिनुभयो ।