• १३ साउन २०८१, आइतबार

मेलम्चीको पानी वितरण अनिश्चित

blog

काठमाडौँ, असोज ७ गते । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण थप अनिश्चित बनेको छ । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स र मुख्य बाँधमा माटोको लेदो र गेग्य्रान थुप्रिएपछि पानी वितरण अनिश्चित बनेको हो । 

बाढीपहिरोले आयोजनाको मुहानसम्म पुग्ने सडकसमेत बगाएकाले हेडवक्र्स र मुहान क्षेत्रमा पुगेको क्षति अझै यकिन हुन सकेको छैन । ‘ड्रोन’ को सहायताले गरिएको अध्ययन अनुसार मुहान क्षेत्रमा ठुलो मात्रामा माटोको लेदो र गेग्य्रान थुप्रिएको देखिएको सो आयोजनाले जनाएको छ । बाढीपहिरोले मुहान र सुरुङमा क्षति पु¥याउन सक्ने भन्दै यो वर्ष असार ७ गतेदेखि पानी पथान्तरण रोकिएको थियो ।

मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर पद्म कुँवरले यस वर्षको बाढीपहिरोले आयोजनाको हेडवक्र्स र मुहान क्षेत्रमा दुई वर्षअघिको जत्तिकै क्षति पु¥याएकाले आयोजनालाई पुनः सञ्चालनमा ल्याउन समय लाग्ने जानकारी दिनुभयो । उहाँले बाढीपहिरोले आयोजनाको मुहान र हेडवक्र्सका साथै गेट नम्बर ९ र १० पूर्ण रूपमा पुरिएको बताउँदै यस वर्ष मुहान क्षेत्रमा करिब १५ मिटरसम्म माटोको लेदो र गेग्य्रान थुप्रिएको अनुमान गरिएको जानकारी दिनुभयो । कुँवरले भन्नुभयो, “सर्वप्रथम आयोजना स्थलको अध्ययन गरेपछि कहिलेबाट माटोको लेदो र गेग्य्रान हटाउने भन्ने टुङ्गो लाग्छ । त्यसका लागि कति समय लाग्छ भन्नेसमेत अझै अनिश्चित छ ।” 

आयोजना निर्माण सुरु भएको २२ वर्षपछि २०७७ चैत १५ गते पहिलो पटक मेलम्चीको पानी उपत्यकामा वितरण गर्न सकिएको थियो तर त्यसले निरन्तरता पाउन सकेन । त्यसपछि २०७८ असार र साउनमा मेलम्ची खोलामा आएकोे भीषण बाढीपहिरोले आयोजनाको मुहान र हेडवक्र्समा ठुलो क्षति पु¥याएको थियो । त्यसपछि बन्द रहेको मेलम्चीको पानी वितरण २०७९ वैशाख ११ गतेबाट अस्थायी रूपमा सुरु गरिएको थियो । बाढीपहिरोबाट क्षति हुन सक्ने भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी वितरण पुनः बन्द गरिएको थियो । काठमाडौँमा २०७९ मङ्सिर २३ गते  मेलम्चीको पानी पुनः वितरण सुरु गरिएको थियो तर यो वर्ष कहिलेदेखि पानी वितरण सुरु हुन्छ भन्ने विषय अनिश्चित रहेको आयोजनाको भनाइ छ ।