• १० मंसिर २०८१, सोमबार

बेनामहरूको नाममा (कथा)

blog

कतिपय सम्बन्ध यस्ता हुन्छन्, जो भित्रभित्रै टुसाउँछन्, भित्रभित्रै हुर्कन्छन्, बढ्छन् । यसलाई सही मानेमा परिभाषित गर्न मुस्किल पर्छ । प्रभात र मञ्चलाको सम्बन्ध पनि त्यस्तै थियो । मञ्चला प्रभातको मनको पातलो आवरणलाई छिचोल्दै भावनाभित्र पस्थी । यादको पानाभित्र फर्फराउँदै सुमधुर गाना गुन्गुनाउँथी । 

जहाँसम्म मञ्चला को थिई भन्ने सबाल छ, आमाबाबुले सानामा उसलाई काली नाम दिएका थिए । काली अर्थात् कालो छाला भएकी बच्ची । ऊ जति काली थिई त्यति नै राम्री पनि थिई । ऊ गरिब परिवारमा जन्मेकी थिई । गरिबीकै कारण शिवराम नाम गरेको व्यक्तिले कालीकी आमालाई आर्थिक प्रलोभनमा पार्न सफल भयो र २० हजार नगद भुक्तानी गरी कालीलाई मुम्बई पुर्‍यायो । कालिका त्यसपछिका तीन वर्ष मुम्बईको कोठीमा बिते । कोठीमा बस्दाबस्दै कालीले नयाँ नाम पाई– ‘मञ्चला’ । खासमा त्यो नाम एक जना भारतीय ग्राहकले दिएको थियो । तथापि उसलाई मञ्चला नाम बिछट्टै मनप¥यो । त्यस उप्रान्त कालीले सबैसँग मञ्चला भनी बोलाइदिन अनुरोध गरी । यस प्रकार ऊ कालीबाट मञ्चलामा रूपान्तरित भई । 

ऊ मुम्बई बस्न थालेको तेस्रो वर्ष, एक रात प्रहरीले कोठीमा छापा मार्‍यो । मञ्चलासहित चौबिस जना युवतीले कोठीबाट उन्मुक्ति पाए । प्रहरीले युवतीहरूलाई आआफ्नो घर ठेगानामा पुर्‍याउने बन्दोबस्त मिलायो । मञ्चला पनि भारतबाट नेपाल भित्रिई । नेपाल आएकी ऊ काठमाडौँस्थित महिला सशक्तीकरण एकाइको संरक्षणमा रहन थाली । संस्थाले उसलाई स्कुल–कलेज पढायो । देश समाज बुझ्न सक्ने बनायो । रहँदा बस्दा मञ्चलामा समाजबाट अपहेलित, बहिष्कृत, तिरस्कृत, सीमान्तकृत एवं शोषण, उत्पीडनविरुद्ध अभियान चलाउने जबर्जस्त सोच पलायो । यस्तैमा मञ्चलाको प्रभातसँग परिचय हुन पुग्यो । प्रभात, मञ्चला, चेतन, अनामिकालगायत जागरुक युवाले ‘बेनामहरूलाई नाम’ सङ्गठन खोले । प्रभात सङ्गठनको अध्यक्ष र मञ्चला महासचिव निर्वाचित भई । ‘बेनामहरूलाई नाम’ दिने सङ्गठनको मूल उद्देश्य थियो । 

सङ्गठनले बेनामहरूलाई नाम दिने राष्ट्रव्यापी अभियान चलायो । प्रभात र मञ्चला अभियानको नेतृत्व गर्दै कहिले मेची पुग्ने गर्थे त कहिले महाकाली हुइँकिन्थे । कुनै दिन हिमालतिर उक्लिन्थे त कुनै दिन तराईतिर ओर्लन्थे ।

यस्तैमा उनीहरू एक दिन पश्चिम नेपालको सीमान्तकृत बस्तीमा पुगे । पुगेको भोलिपल्टै नामकरण उत्सव भयो । प्रभात, मञ्चला, अनामिका र चेतनले गुमनाम, बेनामहरूलाई नामद्वारा सुशोभन गर्नुअघि नाम छान्ने अवसर दिए । आजीवन डल्ली, डुँडी, फुरौली, पुन्टी, भुन्टी, काली, ठाकु, आचिउँ, अन्तरे, मन्तरे, च्यान्टे, डल्ले, भुन्टे, डुँडे, खुँडे, काले, मुतौरे आदि विशेषणद्वारा विभूषित हुँदै आएका सयौँ महिला तथा पुरुषमा अपार हर्ष छायो । नामकरणपछि प्रवचन कार्यक्रम आरम्भ भयो । जीवनमा पहिलो पटक आशातीत नाम पाएकाको प्रतिनिधित्व गर्दै ‘नक्षत्र’लाई केही बोल्न भनियो । नक्षत्र आँखाभरि आँसु लिँदै मञ्चमा पुगिन् अनि बोल्न लागिन्–

मानिस भन्छन्– नाममा के छ त्यस्तो ! गुलाबलाई जेसुकै नामले पुकार बास्ना उत्तिकै आउँछ ! तर कुरा त्यसो होइन । खुकुरीको चोट अचानोले मात्र चाल पाउँछ । तिम्रो समाजमा कुकुरले नाम पाएको छ । पिँजडाको सुगालाई ‘गोपी’ भनी बोलाइन्छ । निर्जीव महलहरू समेत आआफ्नो नाम बोकी ठिङ्ग उभिएका देखिन्छन् । के हामी महल, कुकुर अनि पिँजडाको सुगाभन्दा पनि नालायक भयौँ ?

उनी बोल्दै गइन्–

मानिसहरू भन्ने गर्छन्– तैँले भुन्टी नाम पाएकै छेस्, किन धेरै च्याँठिन्छेस् भनेर ! भुन्टी कुनै नाम होइन । त्यो त केवल हेय विशेषण हो । भुन्टी भनेर बोलाएको सुन्दा मेरो मन चसक्क दुखेर आउँछ । हामीहरू सामाजिक रूपमा त हेपियौँ, हेपियौँ । नामविहीनसमेत पारियौँ । परम्परावादीहरू हामीलाई इच्छित नाम दिँदा खुनी बगावत सुरु हुन्छ भन्छन् । धर्तीमै प्रलय आउँछ झैँ सोच्छन् । त्यसैले त उनीहरू नामकरण संस्कारमाथिको पण्डिते एकाधिकार छोड्न तयार भएनन् । म भन्न चाहन्छु, ए परम्पराका ठेकेदारहरू हो, बेनामहरूलाई नाम दिएर त हेर, त्यसपछि थाहा पाउने छौ, सम्मानले विद्रोहको बीज रोप्दोरहेछ या समन्वयको दीप बाल्दोरहेछ ?

नक्षत्र अझै अघि बढिन्– 

बिहे भएको दुई वर्षपछि मेरी आमा दुर्घटनामा परी विकलाङ्ग भइन् । विकलाङ्ग भएपछि उनलाई हेर्ने सामाजिक दृष्टिकोणमा आमूल भिन्नता आयो । दुर्घटनापछि मेरी आमाकोे राधिका नाम हरायो । उनी डुँडी भनेर चिनिन लागिन् । समाजले मात्र होइन बाउले समेत आमालाई ‘डुँडी’ भनेर बोलाउन थाल्नुभयो । मेरी आमा ‘ए डुँडी यता आइज’ भन्दा आउँथिन् । ‘उता जा’ भन्दा जान्थिन् !

आमा विकलाङ्ग भएकै साल बाउले कान्छी स्वास्नी ल्याए । कान्छी आमा मालिक्नी जसरी उपरखुट्टी लाएर बस्थिन् । मेरी आमाचाहिँ नोकर्नी जसरी दिनरात काममा घोटिन्थिन् । त्यही मेसोमा मेरो जन्म भएको रे ! डुँडीको छोरीलाई कसले राम्रो नाम दिने ? त्यसमाथि जन्मँदैमा सानोगाँठीकी म । न्वारनका दिन पुरेतले भुन्टी नाम जुराएका रे ! पुरेतले भनेपछि अरू नाम खोज्ने आवश्यकता कसैले देखेन । 

यो मेरो पीडा हो । मैले महसुस गरेको पीडा । यो मेरो मात्र नभई हजारौँ–लाखौँ गुमनामको पीडा हो । यस समाजमा म जस्ता हजारौँ–लाखौँ हुनुहुन्छ । हाम्रो शरीर अलग अलग किन नहोस्, पीडाको रङ एउटै छ । छातीको घाउ उस्तै छ । कहिलेकाहीँ त्यो घाउ असह्य भएर दुख्छ... ।’ बोल्दाबोल्दै नक्षत्रका गला अवरुद्ध भए । उनी अश्रुमय हुँदै आसनमा फर्किइन् । सभामा सन्नाटा छायो । नक्षत्रलाई देखेर प्रभातका आँखा रसाउन थाले । 

दिन त्यसरी नै बित्यो ।

लामो सहयात्राका कारण प्रभात र मञ्चला आपसमा नजिकिँदै गइरहेका थिए । मञ्चला अविवाहित थिई । प्रभातले श्रीमती गुमाएको थियो । दस वर्षअघि भएको हवाइ दुर्घटनामा उसकी जीवनसङ्गिनी शुभेच्छाको मृत्यु भएको थियो । प्रभात र मञ्चला एकअर्कालाई चाहन्थे तर दिल खोलेर भन्न चाहिँ सकेका थिएनन् । त्यसैको सङ्केत हुनु पर्छ, केही दिनअघि प्रभातलाई मञ्चलाले प्रेमपत्रको झल्को दिने एक लेखोट पठाएकी थिई ।  

बेनामहरूले नाम पाएको दिन, प्रभात राति छिटै निदायो तर आधा रात नहुँदै निद्राबाट ब्युँझियो । घडीले १२ बजेको जनाउ दिइरहेको थियो । ऊभित्र मञ्चलाले लेखेको पत्र, उसको सुुमधुर बोली वचन चलचित्रको रिल झैँ अविराम सल्बलाउन थाल्यो । बस्तीमा बिजुली बत्ती थिएन । उसले टेबलमाथि राखिएको लालटिन जलायो । अनि कापी, कलम निकालेर लेख्न सुरु ग¥यो । 

प्रिय मञ्चला !

पत्रको जवाफ पत्रबाटै दिन मन लाग्यो । तिम्रा शब्दहरूमा शोकलाई शक्तिमा बदल्ने सामथ्र्य थियो । शुभेच्छाप्रति तिमीले व्यक्त गरेको श्रद्धा–सुमनले जलिरहेको मुटु थोरै मात्र भए पनि शीतल भएर आयो । करुणाले भरिएका सामान्य शब्दहरूले जीवनमा कति धेरै सहजता थप्दा रहेछन् भन्ने मैले 

त्यस क्षण चाल पाएँ ।

प्रिय मञ्चला ! हामीले पाइला टेक्नुअघि यो बस्ती परम्पराका अन्ध ठेकेदारहरूको मुठीमा थियो । हिजोबाट परम्परावादीहरूको दुरुह किल्ला भत्कन सुरु भएको छ । आजीवन सुनामको चाहमा बाँचिरहेकाहरूमा आशातीत नाम पाउँदा कति धेरै खुसी जाग्दोरहेछ भन्ने हामीले पहिलो पटक महसुस गर्ने मौका पायौँ । 

मञ्चला ! ध्रुव तारा झैँ दूर क्षितिजबाट एउटा उज्यालो पिण्ड पिलपिल गर्दै ज्योति छर्छ । चुक पोखे जस्तो कालो रातमा म त्यसलाई हेर्दै मन बहलाउँछु । ऊ मलाई डाके झैँ गर्छ, म पाइला सारे झैँ गर्छु । कल्पना मेरो बसमा छ । कल्पना गर्न कसले कसलाई रोक्न सक्छ र ! म एकैछिन ‘वामन अवतार प्रभु’ बनेको परिकल्पना गर्छु ! अनि एउटा पाउ नक्षत्रहरूको झिलमिल दुनियाँमा राख्छु । तिमीले अन्यथा मान्दैनथ्यौ भने तिमीलाई पनि म नक्षत्रहरूको झिलमिल दुनियाँमा डाक्थेँ र भन्थेँ– आउ, दूरीबाटै सही एक चुस्की प्रेम साटौँ । आठौँ आश्चर्यको ताजमहल बनाऔँ ।  

फिरफिर गर्दै हल्लिने पीपलका पातहरूले थकित यात्रीलाई आराम दिए जस्तै शोकसन्तप्त भई धक्धक् उफ्रने मेरो मुटुलाई तिम्रा पत्रले सञ्जीवनी बुटीको घोट्टा पिलाए । मेरो जीर्ण दिललाई यसरी नै जीवनामृत पिलाइरहनु तिमी । हामीबिचको विचित्र सम्बन्धलाई दुनियाँको अनौठो अदालतमा म दर्ता गर्ने छु ।’ 

त्यस रात मञ्चलाको हालत पनि प्रभातको भन्दा फरक थिएन । ऊ निद्राबाट छिटै ब्युँझिई । अनि प्रभातलाई सम्झिँदै कलमको निव अघि बढाई–

‘जिन्दगी एक काँचको टुक्रा ! फुटी गए मनले महसुस गरेको विम्ब कहाँ देखाउने ? कसलाई सुनाउने ? प्राणको स्पर्श पाएसम्म बाँसुरी सुसेल्दो रहेछ । शरीरको बाक्लो आवरणभित्र मनको असीम गहिराइ छ । गहिराइका प्रत्येक तहमा भावनाका आदि विम्ब छन् । कति विम्बहरू ऐना नजिक पुग्छन्, लजाउँदै भाग्छन् । कति निर्लज्ज बन्दै छचल्किएर पोखिन खोज्छन् ।

वर्तमानसम्म आइपुग्दा तपाईंको र मेरो जीवनमा पनि नदेखिएका पाटाहरू छन् । नलेखिएका कथाहरू छन् । सुनाउन बाँकी गाथाहरू छन् । सामाजिक मूल्य र मान्यताको तापमा गुम्सिन बाध्य व्यथा छन् । छामेर हेरौँ, त्यहाँ ओसको अंश छ । सुँघेर हेरौँ, त्यहाँ आद्रताको गन्ध छ । 

तपाईं भन्दै हुनुहुन्थ्यो, म पचासको भएँ । त्यसो त म पनि पैँतिसकी भइसकेँ । तपाईं र मबिच उमेरको काँढेतार त छ । परन्तु प्रेम र उमेरबिचको महायुद्धमा उमेर पराजित हुँदोरहेछ । त्यसैले त यो बेइमान मन कसैले नसुन्ने गरी भन्छ, एकादेशमा एउटा प्रभात छ, अनि मञ्चला छे... !’    

Author

प्रकाश तिवारी