हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), पुस १५ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जम्ने, पानी र चरन अभावका कारण याकचौरी बेसी झारिएका छन् ।
उच्च लेकमा चिसोसँगै हिमपातका कारण चरन क्षेत्रमा बिरामी पर्ने जोखिमलाई मध्यनजर गरी बस्तीनजिकै रहेका चरन क्षेत्रमा गोठ स्थानान्तर गर्न थालिएको हो । मुस्ताङ र तिब्वतको सिमा क्षेत्रका साथै हिमाली भेगमा रहेको गोठबाट मंसिर महिनादेखि बस्ती क्षेत्रमा ल्याउन थालिएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ ।
बस्ती क्षेत्रमा चरनको अभाव भएपछि बैशाखदेखि मंसिर महिनासम्म मुस्ताङका पाँचवटै स्थानीय तहमा रहेका चौरीपालकले उच्च लेकका विभिन्न खर्कमा लगेर पालन गर्ने गरेको याकचौरीलाई करिब ३ महिनाका लागि तल झार्ने गरेको कार्यालयका प्रमुख डा. लालमणी अर्यालले बताउनुभयो ।
कार्यालय प्रमुख अर्यालले भन्नुभयो, ‘‘चिसो हावापानी अनुकुल भए पनि हिमपातसँगै उच्च लेकमा अहिले गोठ राख्न सक्ने सम्भावना हुँदैन, यो समयमा चरन क्षेत्रको अभावसँगै कठिन हुने भडएकाले बस्तीनजिकै ल्याउने गरिन्छ ।’’
उपल्लो मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा २३ वटा गोठमा २४ सय ५० याकचौरी रहेको कार्यालयको तथ्याङकले देखाउँछ । त्यसैगरी थासाङ, घरपझोङ र बाराजुङ मुक्तिक्षेत्रकामा ३९ गोठमा २६ सय ५० याक र चौरी रहेको कार्यालय प्रमुख डा. अर्याललको भनाइ छ ।
याक, चौरीसँगै माथिल्लो क्षेत्रमा च्याङ्ग्रा समेत कठोर हावापानीमा हुर्किने भएकाले माइनस तापक्रममा चरन क्षेत्रबाट बस्तीभित्रका गोठमा ल्याउने गरिन्छ । माथिल्लो र तल्लो मुस्ताङका चौरीपालक कृषकले समुन्द्री सतहदेखि करिब ५५ सयभन्दा माथिल्लो स्थानसम्म लगेर चरन क्षेत्रको ब्यवस्थापन गर्ने गरेको अवस्थामा गोठालालाई समेत चिसोका कारण जोखिम हुने भएकाले अनुकुल हावापानीमा अस्थायी गोठ बनाएर राख्ने गरेको हिमालयन चौरी पालक तथा संरक्षण समिति मुस्ताङले जनाएको छ ।
चरन क्षेत्रबाट बस्तीमा ल्याइएका चौरी र च्याङ्ग्रापालक कृषकले बस्ती क्षेत्रमा आवश्यक आहाराको समेत ब्यवस्थापन गरिन्छ । बर्खायाममा हिउँ पग्लिएर घाँस पलाउने र गोठालालाई याकचौरी व्यवस्थापन गर्न सहज हुन्छ ।
तल्लो मुस्ताङको थासाङ गाउँपालिकाको मार्चे लेक, धवलागिरि आइफल रहेको मुलीखर्क लेक, घरपझोङ गापामा बतासे लेक क्षेत्रमा याकचौरीपालन गर्ने गरिएको थासाङ गाउँपालिका –२ का वडाध्यक्ष गौतम शेरचनले बताउनुभयो । वडा अध्यक्ष शेरचनले चरन क्षेत्रमा रहेका गोठालाको समेत सुरक्षाका लागि आवश्यक समन्वय र पहल गर्ने गरिएको छ ।

किसानहरूले याकचौरी व्यवसाय सुरक्षितसँगै कोरला नाका क्षेत्रमा ब्याापर समेत गर्ने गरेका छन् । कोरला नाकामा पर्यटकको सिजनको बेलामा याकको प्रदर्शन गरी आर्थिक आर्जन समेत गर्ने गरिएको छ । बस्ती क्षेत्रमा चौरीबाट बनाउन सकिने दुधजन्य परिकारलाई बेचेर आम्दानी गर्ने गरिन्छ ।
जिल्लाका स्थानीय तहले बेशीतिर पर्याप्त चरन सुनिश्चित गर्ने तथा उपचार सेवालाई समेत प्राथमिकता दिएका छन् । एउटै जिउँदो याकको डेढ लाखसम्म पर्छ । हरेक बर्ष तल्लो मुस्ताङको बतासे लेक, बोक्सी खोल, मार्चे लेकमा याकचौरीको आलो रगत खाने मेला लाग्ने गर्दछ । जिल्लाका ५ वटै स्थानीय तहका याकचौरी पालन व्यवसायीहरूको हकहित र उत्थानका लागि २०७६ सालमा हिमालयन याकचौरी पालन तथा संरक्षण व्यवस्थापन समिति गठन गरिएको छ ।