• १५ पुस २०८२, मङ्गलबार

नेतान्याहूद्वारा ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने घोषणा

blog

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ।

फ्लोरिडा (अमेरिका), पुस १५ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताबिचको द्विपक्षीय वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च शान्तिका लागि इजरायल पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भएको छ ।  

नेतान्याहूले इजरायली सरकारले ट्रम्पलाई शान्तिका लागि इजरायल पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताउँदै ८० वर्षमा पहिलो पटक यो पुरस्कार गैर-इजरायली नागरिकलाई प्रस्ताव गरी शान्ति श्रेणी थप गरिएको बताउनु भएको छ । सोमबार फ्लोरिडास्थित ट्रम्पको निवास मार-ए-लागोमा भएको द्विपक्षीय वार्ता पछि ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा नेतान्याहूले यस्तो घोषणा गरेको बताइएको छ भने ट्रम्पले यस सम्मानलाई अप्रत्याशित र प्रशंसनीय भन्दै प्रतिक्रिया दिएको बताइएको छ ।   

राष्ट्रपति डोनाल्ड जे ट्रम्पले इजरायली र यहुदी जनताका लागि गरेको अपार योगदानका लागि यो पुरस्कार प्रदान गरेको शिक्षा मन्त्रीले औपचारिक रूपमा घोषणा गरेको “नेतान्याहूले पुष्टि गर्नुभयो । “यसले सम्पूर्ण क्षेत्रमा इजरायलीको भावनालाई प्रतिबिम्बित गर्दछ, उनीहरूले इजरायललाई सहयोग गर्न र आतङ्कवादी विरुद्धको हाम्रो साझा लडाइँको कदर गर्छन्” उहाँले बताउनु भयो । ट्रम्पले प्रतिक्रिया दिँदै पुरस्कार आश्चर्यजनक र धेरै सराहनीय रहेको बताउनु भएको छ । 

इजरायल पुरस्कार देशको सर्वोच्च नागरिक सम्मान हो, परम्परागत रूपमा विज्ञान, कला र मानविकी जस्ता क्षेत्रमा उत्कृष्टताका लागि इजरायली नागरिकलाई प्रदान गरिन्छ । यद्देपी शान्ति श्रेणी यस अघि कहिल्यै प्रदान गरिएको थिएन । जुलाई २०२५ मा, इजरायलले पुरस्कारका लागि ट्रम्पको छनोट गर्दै विदेशी नागरिकलाई सम्मान दिन अनुमति दिन पुरस्कार नियम संशोधन गरेको थियो । 

पुरस्कार प्राप्त गर्न ट्रम्पले इजरायलको स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने अपेक्षा गरिएको सिएनएनले जनाएको छ । शिक्षा मन्त्री योव किस्चले ट्रम्पलाई औपचारिकरूपमा निर्णयको जानकारी दिएसँगै उहाँले समारोहमा उपस्थित हुने विचार व्यक्त गर्नुभयो ।

दुई नेताबिच मतभेद रहेको भएता पनि ट्रम्प र नेतान्याहूले कब्जा गरिएको वेस्ट ब्याङ्कसहित गाजा शान्ति योजनाको दोस्रो चरणबारे पनि कुरा गरेको ट्रम्पले बताउनु भएको छ । यसैबिच नेतान्याहूले वार्ता अत्यधिक फलदायी भएको बताउदै ट्रम्पको भूमिकाको प्रशंसा गर्नु भएको छ । रासस/एएनआई