• १५ पुस २०८२, मङ्गलबार

कुलुङको पर्व चाक्चाकुर

blog

नेपाली समाजको वास्तविक पहिचान यहाँको अतुलनीय भाषिक, जातीय र सांस्कृतिक विविधतामा निहित छ । यही विविधताको एक गौरवशाली कडी हो, किराँत महावंश अन्तर्गत पर्ने एक प्राचीन र समृद्ध सभ्यता बोकेको गर्विलो जाति किराँत कुलुङ । विशेषतः नेपालको पूर्वी सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्रलाई उद्गमस्थल मान्ने कुलुङ समुदायले पुस महिनाको मध्यमा मनाउने चाक्चाकुर पर्व उनीहरूको संस्कृति, जीवनशैली र प्रकृतिसँगको गहिरो सम्बन्धको द्योतक हो । यो चाड उनीहरूका लागि नयाँ वर्ष मात्र नभई अन्नभण्डारणको खुसी मनाउने र पुर्खा तथा प्रकृतिलाई सम्मान गर्ने एक महìवपूर्ण पर्व हो । 

प्रकृतिसँगको अगाध प्रेम, पितृप्रतिको श्रद्धा र आफ्नै पौरखमा गर्व गर्ने यो समुदायको जीवनदर्शन उनीहरूको मौलिक चाड मिनारी दाचाम चाक्चाकुरमा झल्किन्छ । पुस महिनाको कठ्याङ्ग्रिँदो जाडोमा जब प्रकृतिले काँचुली फेर्न थाल्छ, तब कुलुङ बस्तीमा निङ दोङ (नयाँ वर्ष) को उमङ्ग छाउँछ र येले दोङ (किरात संवत्) को नयाँ अङ्क थपिन्छ । कुलुङ मौसमी पात्रो अनुसार चाक्चाकुर छेकाबाट नयाँ वर्ष येले दोङ सुरु हुन्छ ।

मिनारी दाचाम चाक्चाकुर : मिनारी दाचाम चाकचाकुर किराँत कुलुङ जातिको पौरख, प्रकृति र पहिचानको उत्सव हो । कुलुङ भाषामा मिनारीको अर्थ पौरख, दाचामको अर्थ खानु वा उपभोग गर्नु र चाक्चाकुर पर्वको नाम हो । शाब्दिक रूपमा भन्नुपर्दा, यो आफ्नै पौरखले उब्जाएको अन्नबाली आफ्ना पितृ र प्रकृतिलाई चढाएर प्रसादका रूपमा ग्रहण गर्ने पर्व हो । यो चाड प्रत्येक वर्षको पुस १५, १६ र १७ गते भव्य रूपमा मनाइन्छ । कुलुङ रिदुम (मौखिक शास्त्र) अनुसार यो समय भनेको सूर्य दक्षिणायनबाट उत्तरायणतर्फ लाग्ने, दिनहरू लामा हुन थाल्ने र प्रकृतिको नयाँ चक्र सुरु हुनेबेला हो । त्यसैले यसलाई नयाँ वर्ष अर्थात् निङ दोङका रूपमा स्वागत गरिन्छ । यस पर्वलाई पूर्ण रूपमा मिनारी दाचाम चासुम् लो निङदोङ चाक्चाकुर भनिन्छ, जसको अर्थ हुन्छ, ‘मानव पाखुरीको बलले भण्डारण गरिएको अन्नको नयाँ वर्ष ।’ ​यो चाड मनाउनका लागि देश विदेशमा छरिएर रहेका कुलुङ समुदायका सदस्य आफ्नो पुख्र्यौली थलो वा नजिकको बस्तीमा भेला हुन्छन् । यसले कुलुङका लागि हिन्दुहरूको दसैँतिहार जस्तै पारिवारिक र सामाजिक पुनर्मिलनको अवसर प्रदान गर्छ ।

​मौलिकता झल्काउने विधि र रीतिरिवाज ​चाक्चाकुर पर्व विशुद्ध रूपमा कृषि प्रणाली र प्रकृति पूजामा आधारित छ । यस पर्वमा कुलुङ समुदायले आफ्नो जीविकाको आधार अर्थात् अन्नभण्डारमा प्रकृतिको पूजा गर्छन् र आगामी वर्षभरि अनिकाल तथा दैवीप्रकोप नलागोस् भनी प्रार्थना गर्छन् । चाडको अवसरमा घरका मूली तथा मान्यजनबाट टीका ग्रहण गर्ने र आशीर्वाद लिने गरिन्छ । यो टीका हिन्दु परम्पराको टीकाभन्दा फरक र कुलुङहरूको मौलिक पहिचान झल्काउने हुन्छ । भर्खरै पाकेका तथा भण्डारण गरिएका नयाँ अन्न (कोदो, मकै, गहुँ) बाट परिकार बनाई कुलदेवता र पुर्खालाई चढाइन्छ । परम्परागत रूपमा उमालेको मकै (वाक्पुम) र मासु (छप्छौ) जस्ता विशिष्ट खानेकुरा खाने गरिन्छ । पर्वको रौनक बढाउन गाउँभरिका मानिस एकै ठाउँमा भेला भएर अर्थात् मेलाको आयोजना गरी परम्परागत गीतमा सामूहिक नाचगान गर्छन् । युवापुस्ताले यस अवसरमा कुलुङ भाषा, संस्कृति र इतिहास झल्काउने साङ्गीतिक तथा नृत्य कार्यक्रम प्रस्तुत गर्छन् । तीन दिनको अवधिमा विभिन्न परम्परागत खेलकुद र मनोरञ्जनात्मक प्रतियोगिता आयोजना गरिन्छ, जसले गाउँलेबिच भाइचारा र एकतालाई बलियो बनाउँछ । 

येले दोङ : इतिहासको साक्षी ​कुलुङ समुदायले मान्ने संवत् येले दोङ हो, जसलाई किराँत संवत् पनि भनिन्छ । यो नेपालकै सबैभन्दा पुरानो संवत् हो । इतिहासकारहरूका अनुसार प्रथम किराँत राजा यलम्बरले शासन सुरु गरेको समयदेखि यसको गणना गरिन्छ । अहिले हामी येले दोङ ५०८५ को सँघारमा छौँ । ​येले दोङ केवल अङ्क मात्र होइन, यो किराँत कुलुङको अस्तित्व, भूमिमाथिको ऐतिहासिक सम्बन्ध र आदिम पहिचानको द्योतक हो । विक्रम संवत् र इस्वी संवत्भन्दा धेरै अघिदेखि चल्दै आएको यो संवत्ले नेपाली सभ्यताको जग कति पुरानो छ भन्ने कुराको पुष्टि गर्छ । 

​निङ दोङ : नयाँ वर्ष ​कुलुङ समाजमा निङको अर्थ नयाँ र दोङको अर्थ वर्ष हुन्छ । निङ दोङको आगमनसँगै कुलुङहरूले विगतका दुःख र कष्टलाई बिर्सिएर नयाँ उमङ्गका साथ जीवनको यात्रा सुरु गर्छन् । पुस १५ को रातलाई वर्षको सबैभन्दा लामो रात मानिन्छ र भोलिपल्टदेखि सूर्यको ताप बढ्दै जाने विश्वास गरिन्छ । यो समयमा विभिन्न सांस्कृतिक नाच नाचिन्छ, जसमा प्रकृतिका जीवजन्तु र मानिसको सम्बन्धलाई अभिनयमार्फत देखाइन्छ । चाक्चाकुरको तीन दिन विशेष सांस्कृतिक विधि र परम्पराले भरिएका हुन्छन् । ​पहिलो दिन (पुस १५) यस दिनलाई नयाँ वर्षको स्वागतका रूपमा लिइन्छ । घरआँगन सफा गर्ने, पितृहरूको नाममा विशेष पूजा गरिन्छ र वन तरुल, तरुल जस्ता कन्दमूल खनेर ल्याउने गरिन्छ । ​दोस्रो दिन (पुस १६) यो मुख्य उत्सवको दिन हो । यस दिन कुलुङले आफ्नै बारीको अन्नबाट बनेका परिकार, विशेष गरी कोदोको जाँड, दिनिउ, रक्सी र तरुलका परिकार खान्छन् । आफन्त र छरछिमेकी भेला भएर शुभकामना साटासाट गर्छन् । निङ दोङ सायो चोङमा (नयाँ वर्षको शुभकामना) को गुञ्जनले गाउँबस्ती गुञ्जायमान हुन्छ । ​तेस्रो दिन (पुस १७) यस दिन पर्वको समापन गरिन्छ ।  

मिनारी दाचामले हामीलाई श्रमको सम्मान गर्न सिकाउँछ । कुलुङहरू मगन्ते होइनन् उनीहरू मिनारी अर्थात् पौरखी हुन् । वनजङ्गल, भिरपाखा र कठोर भूगोलसँग जुधेर उनीहरूले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । चाक्चाकुरमा खाइने कन्दमूल र अन्नहरू केवल भोजन मात्र होइनन् ती प्रकृतिले दिएका वरदान र मानिसको पसिनाका प्रतिफल हुन् । प्रकृति र मानिसबिचको यो अटुट सम्बन्ध नै कुलुङ संस्कृतिको मेरुदण्ड हो । ​ 

बसाइँसराइ र आधुनिकताको चुनौती ​हिजोका दिनमा सोलुखुम्बुको महाकुलुङ (बुङ, छेस्काम, गुदेल, पावै र सोताङ) मा मात्र सीमित यो पर्व आज विश्वव्यापी बनेको छ । बसाइँसराइका कारण भोजपुर, सङ्खुवासभा, सुनसरी, मोरङ, झापा, इलाम, तेह्रथुम र काठमाडौँ हुँदै बेलायत, हङकङ र अमेरिका पुगेका कुलुङहरूले पनि निङ दोङलाई उत्तिकै उत्साहका साथ मनाउन थालेका छन् । ​ आधुनिकताको लहरले केही चुनौती पनि थपेको छ । नयाँ पुस्तामा आफ्नो भाषा र रिदुमप्रतिको ज्ञान घट्दै जानु चिन्ताको विषय हो । यद्यपि कुलुङ जाति र येले दोङ अर्थात् निङ दोङलाई एउटै सिक्काका दुई पाटा मान्ने अभियानले यो संस्कृतिलाई मर्न दिएको छैन । सहर बजारमा मनाइने औपचारिक कार्यक्रमले कुलुङ जातिलाई आफ्नो भाषा, वेशभूषा र संस्कार संरक्षण गर्न उत्प्रेरित गरेको छ । ​

मिनारी दाचाम चाक्चाकुर केवल एउटा समुदायको चाड मात्र होइन, यो नेपालको विविधतापूर्ण संस्कृतिको एउटा चम्किलो तारा हो । येले दोङको गौरवशाली इतिहास र निङ दोङको नवीनताले हामीलाई आफ्नो जग बिर्सिन हुँदैन भन्ने सन्देश दिन्छ । आफ्नो पौरखमा बाँच्ने र प्रकृतिलाई भगवान् मान्ने कुलुङ जीवनशैलीबाट आजको उपभोक्तावादी विश्वले धेरै कुरा सिक्न सक्छ । पर्वको बढ्दो महत्वसँगै नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घलगायतका संस्थाले यस चाडलाई राष्ट्रिय पर्वका रूपमा मान्यता दिनुपर्ने माग गर्दै आएका छन् । यसको राष्ट्रिय मान्यताले नेपालको सांस्कृतिक मानचित्रलाई अझ फराकिलो बनाउनुका साथै कुलुङ समुदायको विशिष्ट पहिचानलाई सम्मान गर्ने छ । ​​चाक्चाकुरको यो अवसरमा नयाँ बालीको परिकारसँगै सुरु हुने निङ दोङले सम्पूर्ण नेपालीमा भाइचारा र श्रमप्रतिको सम्मान जगाउन सकोस् । सबैमा येले दोङ ५०८५ को हार्दिक शुभकामना !