• १५ पुस २०८२, मङ्गलबार

कर्मचारी छ महिनादेखि तलबविहीन

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, पुस १५ गते  । यहाँको जुनीचाँदे गाउँपालिकाका कर्मचारीले छ महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । गाउँपालिकाभित्रका कार्यरत कर्मचारी, शिक्षक स्वास्थ्यकर्मी, सामाजिक सुरक्षा भत्ता, बाल पोषण भत्ता निकासा नगरेपछि समस्या भएको छ । लामो समय प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्यक्ष, उपाध्यक्षको झगडाका कारण कार्यरत कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, सामाजिक सुरक्षा भत्ता पाउन नसकेपछि चिन्तित भएका छन् । स्थायी, करार कर्मचारी तथा प्रावि, निमावि, माविका कार्यरत करिब ६०९ कर्मचारी छ महिनादेखि तलबविहीन छन् । 

जुनीचाँदे गाउँपालिकाका प्रशासन शाखाका प्रमुख पदमराज धितालका अनुसार ७९ जना करार, ४५ जना स्थायी कर्मचारी, स्वास्थ्यकर्मी ४८५ र शिक्षक गरी जम्मा ६०९ जनाले गत असारदेखि मङ्सिर मसान्तसम्म पारिश्रमिक पाएका छैनन् । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काम गरेका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलाई छाकको जोहो गर्न समस्या भएको छ । 

उहाँका अनुसार चाडपर्वमा समेत तलब पाइएन । लामो समय तलब नपाएपछि घरपरिवारको खर्च धान्न नसक्ने अवस्था आएको छ । काम गरेको पारिश्रमिक नपाउँदा पसलमा साहुले सामान दिन आनाकानी गरेका छन् । अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको झगडाले कर्मचारीले तबल नपाए पनि जनताको सेवा गरेका छन् । जुनीचाँदे गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्रबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृतको एकलौटीपनाका कारण सरुवा गर्न बाध्य भएको बताउनुभयो । अर्को प्रमुख प्रशासकीय अधिकृत आएपछि मात्रै कार्यालय लयमा फर्कने उहाँले जनाउनुभयो । स्थानीय तहबाट सञ्चालन भएका पूर्वाधारतर्फका सडक, विद्यालय भवन, विद्यालयका घेरबारलगायतका योजना अलपत्र परेका छन् । छ महिनादेखि आर्थिक कारोबार बन्द भएपछि सञ्चालित योजना निर्माणमा समेत समस्या भएको छ । जुनीचाँदे गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति सेवाबाट वञ्चित भएका छन् । सामाजिक सुरक्षा भत्ता पाउने करिब छ जनाभन्दा बढी ज्येष्ठ नागरिकको यो छ महिनामा मृत्यु भएको छ । 

सरकारले दिँदै आएको भत्ताबाट औषधी उपचार गर्दै आएका ज्येष्ठ नागरिकले समयमा रकम नपाएपछि रोगको उपचार गर्न पाएका छैनन् । स्थानीय सरकार अस्तव्यस्त भएपछि कर्मचारी, शिक्षक, सामाजिक सुरक्षा भत्ता, पूर्वाधारका निर्माणका काम ठप्प भएका छन् । जुनीचाँदे गाउँपालिकाको पञ्जीकरण शाखाका रमेश शाहीले केही दिनअघि प्रमुख प्रशासकीय अधिकृतको टुङ्गो लागेपछि खुसी भएको बताउनुभयो ।