• १५ पुस २०८२, मङ्गलबार

एमबीबीएस पढ्न सत्यनारायणलाई कांग्रेस नेत्री थापाद्वारा सहयोग

blog

नेपाली कांग्रेस मधेश प्रदेशकी नेत्री शर्मिला थापाले सत्यनारायणलाई आर्थिक सहयोग गर्नुहुँदै । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, पुस १५ गते ।
सिरहा बरियारपटी गाउँपालिका वडा नम्बर २ श्रीपुरका सत्य नारायण साफीले मजदुरी गरेर एमबीबीएसमा नाम निकाल्न सफल भएपछि पढाइको खर्च जुटाइ दिन निरन्तर सहयोग भइरहेको छ ।

नेपाली कांग्रेस मधेश प्रदेशका नेत्री शर्मिला थापाले सोमबार साफीको घर पुगेर एक लाख पाँच हजार सहयोग गर्नुभयो । यसभन्दा अघि ग्रीन एण्न क्लिन अभियानका अभियन्ता आशिका तमाङगले एक लाख सहयोग गर्नुभएको थियो । सहयोग गर्दै तमाङगले भन्नुभएको थियो, ‘‘तमाम दलित पिछडिएका आमा बुबाहरुको हिम्मत, सहास र प्रेरणाको स्रोत बनेको सत्यनारायण साफी देशकै एक सवल र सफल डाक्टर बन्न सकुन् ।’’

घरको आर्थिक अवस्था कमजोर भएपछि दिनभरी ज्याला मजदुरीमा काम गरेर रातिको समयमा पढेर एमबीबीएसमा मधेशी दलित कोटाबाट पूर्ण छात्रवृतिमा नाम निकाल्न साफी सफल हुनुभएको हो ।

दाङगको घोराहीमा पढ्न होस्टेल खर्च कापी किताबलगायतका खर्च जुटाउन समस्या भएको विषय सामाजिक सञ्जालमा राखेको खबर सुन्दै पढ्दै चौतर्फी सहयोगको माहोल यतिबेला बनेको छ ।

मधेशका दलित समुदायहरु अहिले पनि उच्च शिक्षाबाट बञ्चित रहेको अवस्थामा सत्यनारायणले दिनहुँ ज्याला मजदुरी गरेर पनि दृढ इच्छा शक्ति र उच्च मनोवलका साथ लिएको सङ्कल्प पूरा गर्नुभएको छ ।

एमबीबीएस उत्तीर्ण सत्यनारायण दक्ष डाक्टर बनुन भने चाहना राखेकाहरुले घरमै पुगेर आर्थिक सहयोग गरिरहेका छन् ।

यसैगरी, हर्ट नेपालले पचास हजार, बरियारपटि गाउँपालिकाका अध्यक्ष सन्न्तोष महतो, सिरहा नगरपालिका प्रमुख नविन यादव, नेपाली कांग्रेस सिरहा सभापति रामचन्द्र यादवलगायतका व्यक्तिहरुले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता घरमै पुगेर व्यक्त गर्नुभयो ।

यसैगरी, लहानस्थित लिटिल स्टारमा कक्षा ११ र १२ उत्तीर्ण गरेर एमबीबीएस र बिएसी नर्सिङ्ग कोटामा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल सप्तरी बोदेबसाइनका ओम प्रकाश दास, सिरहाका पार्वती साह र लहानकी मनिषा दासलाई विद्यालयले एक सम्मान कार्यक्रमको आयोजना गरी आवश्यक सहयोग गरिरहने विद्यालयका प्रिन्सिपल जेपी साहले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मधेशी दलित समुदायका नागरिकले उच्च शिक्षाका लागि समावेशी आरक्षण कोटामा नाम निकाल्न थालेपछि शिक्षा आर्जन गर्न साकारात्मक सन्देश प्रवाह भइरहेको दलित अगुवा रामसुफल सदायले बताउनुभयो ।