• १५ पुस २०८२, मङ्गलबार

संरक्षणको पर्खाइमा सुन्दरी तोप

blog

कोतगढीमा खुला रूपमा राखिएको सुन्दरी तोप । तस्बिर : कमल शर्मा

दैलेख समाचारदाता

दैलेख, पुस १५ गते । कोतगढीको मौन प्राङ्गणमा उभिएको सुन्दरी तोप दैलेख इतिहासको साक्षी हो । तत्कालीन समयमा युद्धको तयारीमा गर्जिएको यो तोप आजभोलि घामपानीको सिधा मार सहँदै खुला आकाशमै राखिएको छ । 

पाँच दशकपछि आफ्नै थातथलो फर्काइएको यो ऐतिहासिक तोप अहिले संरक्षणको पर्खाइमा रहेको नारायण नगरपालिका–१ का पूर्ववडाध्यक्ष तीर्थनारायण श्रेष्ठले बताउनुभयो । २०२८ सालको भोकमरी धान्न नसक्दा दैलेख सदरमुकामबाट सुर्खेतस्थित ज्वाला दल गण सारिएको सुन्दरी तोप नेपाली सेनाको जिम्मामा थियो । त्यसबेला सुन्दरीसँगै अर्गालगायत अन्य तोप पनि बोकेरै लगिएका थिए । दैलेखको इतिहास, सेना र स्थानीय संस्कृतिसँग गहिरो सम्बन्ध रहेको यो तोप करिब ५० वर्षपछि अर्थात् २०७८ पुस २१ गते नारायण नगरपालिका–१ स्थित कोतगढीमा फर्काइएको उहाँले बताउनुभयो । तोपसँगै ८१ थान गोला पनि हस्तान्तरण गरिएको थियो ।

तोप दैलेख आइपुग्दा स्थानीय उत्साहित थिए । झाँकी, लाखे र पैचारुनाचसहित बाजागाजा बजाएर भव्य स्वागत गरिएको थियो तर समय बित्दै जाँदा त्यो उत्साह संरक्षणमा भने रूपान्तरण हुन सकेन । तीन वर्ष बितिसक्दा पनि सुन्दरी तोप राख्नका लागि आवश्यक पूर्वाधारका संरक्षण संरचना निर्माण भएको छैन । करिब २३२ वर्ष पुरानो यो तोप कोतगढीमै राखिएको छ । 

५० देखि ७० मिटर क्षेत्रफलमा फैलिएको र करिब १२ फिट उचाइको कोतगढी बहादुर शाहको नायबीकालमा पश्चिमतर्फका राज्य एकीकरणका क्रममा प्रयोग गरिएको ऐतिहासिक किल्ला हो । यही गढीमा राखिएको सुन्दरी तोपले दैलेखको सैन्य र राजनीतिक इतिहास बोकेको छ । नारायण नगरपालिका–१ का पूर्ववडाध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा कोतगढीमा रहेका तोपको खोजी गर्दा सुन्दरी तोप मात्र फेला परेको र अर्को अर्गा तोप र भगवतीको मूर्ति फेला नपरेको जनाउनुभयो । उहाँले भन्नुभयो, “तोपले पछिल्लो पुस्तालाई इतिहास बुझ्ने अवसर दिएको छ तर संरक्षणका लागि अझै नेपाली सेना र नगरपालिकाले ध्यान दिन आवश्यक छ । नेपाली सेनाको समन्वयमा तोप कालीदत्त गुल्म हुँदै कोतगढीमा राखिएको थियो ।” काँडाचौरस्थित कालीदत्त गुल्मका मेजर गजल खड्काले सुन्दरी तोप र कोतगढीबारे जानकारी नपाएको बताउनुभयो । उहाँले आफू भर्खर मात्र जिल्लामा आएको र त्यहाँको अवलोकन गरे पनि वास्तविक कुरा अध्ययन गर्न बाँकी रहेको जनाउनुभयो । उहाँले स्थानीय टुँडिखेलमा रहेको सो तोप नेपाली सेनामातहत भए पनि त्यसको संरक्षणको दायित्व नगरपालिकाकै हुने बताउनुभयो । दैलेखको नारायण नगरपालिका–१ स्थित पुरानो बजारमा रहेको कोतगढीलाई मर्मतसम्भार गर्न नसकिएको वडा नं. १ का वडाध्यक्ष शैलेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले स्थानीय सरकारबाट पुरातìव विभागलाई पत्र पठाएर पुरानै शैलीमा निर्माण गर्नका लागि पर्यटन बोर्डबाट ९० लाख रुपियाँ विनियोजन गरी ठेक्का लागेको कामसमेत नेपाली सेनाले रोकिदिएको गुनासो गर्नुभयो । तत्कालीन समयमा सुन्दरीसँगै अर्गा तोप पनि दैलेखबाट सुर्खेत लगिएको थियो, त्यसको पनि खोजी गरी कोतगढीमै राख्नका लागि सबै सरोकारवाला निकायले पहल गर्नुपर्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । 

नारायण नगरपालिका–१, कोतगढीनजिकै घर भएका रामबाबु श्रेष्ठले सुन्दरी तोप पुनस्र्थापनाले दैलेखको पर्यटन प्रवर्धनमा टेवा पुगेको बताउँदै अझै यसलाई राम्रो र आकर्षण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भाषाको पहिलो अभिलेख र ३२ जातजातिको उद्गमस्थल मानिने दैलेखमा यस्ता सम्पदाको संरक्षण अझै आवश्यक रहेको उहाँको भनाइ छ । घाम, वर्षा र मौसमी असरले सुन्दरी तोपमा क्षति पुग्ने डर उहाँहरूमा छ ।